राप्ती ,बैशाख ३०- राप्ती नगरपालिका वडा नम्बर ६ स्थित भाष्माणि तालमा जनतासंग मेयर कार्यक्रम गरिएको छ । नगरपालिकाको आयोजनमा भएको कार्यक्रममा वडाबासीहरुले अनुभूति हुने गरी बजेट व्यवस्थापन गरेर विकास निर्माणको काम गर्नुपर्ने सुझाब दिए ।
स्थानीय शिला थिङले गरिवी निवारण हुने योजना ल्याउनु पर्ने बताइन् । यो ठाउँमा आदिवासी, जनजातिको बाहुल्यता छ, जुन समुदाय आर्थिक रुपमा पछाडि छन्, थिङ ले भनिन्–त्यस्ता समुदायको उत्थान हुने खालका कार्यक्रम ल्याइयोस ।
अर्का स्थानीय पण्डित चौधरीले टोल टोलमा विकासको वजेट व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए ।

राप्ती एकता मध्यवर्ती सामुदायिक वनका अध्यक्ष द्धारिकाराज सेढाइले भाष्मणि तालको व्यवस्थापन र सामुदायिक वनको लागि पालिकाले बजेट ब्यबस्थापन गर्नुपर्ने बताए । कार्यक्रममा वडाध्यक्ष जल्लु महतो थारुले वडाको नियमति काम र विकास अगाडि बढिरहेको बताउदै जनातमुखी काममा लाग्न मेयर लामालाई सुझाव दिए ।
जवाफमा मेयर शमशेर लामाले पहिलो बर्ष पालिकाको सवै क्षेत्रमा अध्ययन अवलोकन गरी समस्या तथा गुनासा संकलन गरिरहेकाले आगामी बजेट मार्फत समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए । मेयर लामाले गरिबी निवारणको लागि उद्यामशिलता विकास कार्यक्रम सञ्चालन गर्ने बताए ।

लामाले राप्ती ६ लाई कृषि र पर्यटकीय क्षेत्रको रूपमा बिकास बताए । विपन्न समुदायको आर्थिक वृद्धिका लागि सीपमुलक तालिम दिने काम यसै बर्षबाट सुरु भइसकेको मेयर लामाले बताए । विपन्नलाई आर्थिक रूपमा अघि नबढाए सम्म नगरको विकास सम्भव छैन, मेयर लामाले भने–यो बर्ष केही योजना सुरु भएका छन, आगामी बजेट देखि अझ बढी प्राथमिकता दिइनेछ ।

मेयर लामाले स्थानीयको समस्या र गुनासो सुन्दै आवश्यक योजना बनाउन जनतासंग मेयर कार्यक्रम सुरु गरेका हुन् । जुन कार्यक्रम विभिन्न वडामा सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति: