रामपुर,बैशाख ३० – कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) निरन्तर शिक्षा केन्द्रको आयोजनामा नवनियुक्त उपप्राध्यापकका लागि इन्ट्रक्सनल पेडागोजीसम्बन्धी पाँचदिने तालिम रामपुरमा सुरू भएको छ ।
विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले तालिमको उद्घाटन गर्दै नवनियुक्त उपप्राध्यापकहरु आफ्नो पेसागत मर्यादामा रही निरन्तर विश्वविद्यालय र देशको हितमा अघि बढ्नुपर्ने बताइन् । उनले विश्वविद्यालयका निर्दिष्ट म्यान्डेटहरु शिक्षण, अनुसन्धान र प्रसारमा निरन्तर जुटिरहन तालिमका सहभागीलाई आग्रह गरिन् ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले तालिम तथा कार्यक्रमहरुमा गरिने खर्च भनेको खर्च नभई विश्वविद्यालयको हितमा गरिने लगानी भएकाले विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिमा प्राथमिकता दिएको बताइन् । उनले अध्ययन, अध्यापनका साथसाथै अनुसन्धानात्मक कार्यक्रममा पनि विशेष जोड दिएको हुँदा नयाँ आएका उपप्राध्यापकहरुलाई अध्यापनसँगै अनुसन्धानमा सहभागी हुनसमेत आग्रह गरेकी थिइन् ।
कार्यक्रममा विश्वविद्यालयको सेवा आयोगका सदस्य प्रा.डा. पुष्कर पाल, कृषि सङ्कायका डिन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन प्रा.डा. होमबहादुर बस्नेत, स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक प्रा.डा. भूमिनन्द देवकोटाले शुभकामना व्यक्त गरेका थिए ।
तालिममा विश्वविद्यालयका प्राध्यापकहरु, आर्थिक तथा कर्मचारी प्रशासन महाशाखा प्रमुखहरु, काठमाडौँ विश्वविद्यालय र लिटल एन्जेल्स एजुकेसन फाउन्डेसनका शिक्षाविद्हरुले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् ।
तालिममा शिक्षण सिकाइ र मूल्याङ्कनका विधिहरु, परीक्षा सञ्चालनसम्बन्धी विभिन्न आयामहरु र विश्वविद्यालयमा प्रचलित आधारभूत प्रशासनिक तथा आर्थिक प्रक्रियागत विषय समेटिएको तालिमका संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताए । यस्ता किसिमका तालिमहरुले सहभागीहरुको शिक्षण सिकाइमा प्रभावकारी परिवर्तन ल्याउने र शैक्षिक गुणस्तरमा उल्लेख्य वृद्धि हुने उनले बताए ।
तालिममा विश्वविद्यालयको कृषि सङ्काय र आङ्गिक कलेजहरुमा नियुक्त भएका १५ जना उपप्राध्यापकहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: