रत्ननगर वडा नं ३ मा ज्येष्ठ नागरिक र असल परिवारलाई सम्मान

0
64

रत्ननगर,बैशाख ३०- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ का ज्येष्ठ नागरिक तथा असल परिवारलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ९० बर्ष पुरा भएका ९ जना ज्येष्ठ नागरिक र आफ्ना अभिभावकलाई राम्ररी स्याहार सुसार गर्दै आएका पाँच असल परिवारलाई सम्मान गरिएको वडाध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । समाज निर्माणमा योगदान गरेका ज्येष्ठ नागरिक र अपाङ्गता तथा विरामी भएर थलिएका आफ्ना अभिभावकको औषधि उपचार र स्याहार सुसार गरेर समाजमा उदाहरणीय बनेका असल परिवारलाई सम्मान गरिएको उनले बताए ।

९० बर्ष पुरा भएका खेतबहादुर बस्नेत, गैरादेवी खनाल, जीतन महतो थारु, तुलसी सन्यासिनी, देबकला भूषाल, नवराज पाठक, मैना रानामगर, बगडा महतो र विष्णुमाया थपलिया तथा असल परिवारको रुपमा गौतम सिंखडा, रमेश अर्याल, रोगाई महतो, पूर्णबहादुर रानामगर र माया थापालाई सम्मान गरिएको वडाध्यक्ष खरेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाध्यक्ष खरेल र निर्वतमान वडाध्यक्ष गुप्तानाथ भट्टराईले सम्मान गरेका थिए । सो अबसरमा प्रमुख  प्रशासकीय अधिकृत सुवेदीले ज्येष्ठ नागरिकलाई गरेको सम्मानले समाजमा सकारात्मक प्रभाव पर्ने बताए । तीर्थ गर्न मन्दिर धाउन पर्दैन उनले घरमा भएका साक्षर देवता आमाबुवाको सेवा गरेपुग्छ ।

कार्यक्रममा वडा भित्रका २९३ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि समेत प्रदान गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डा.कोपिला अधिकारी, डा.देवेन्द्रकुमार यादब सहित आयुर्वेद चिकित्सकहरुले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका थिए ।

ज्येष्ठ नागरिक वडा मञ्चका अध्यक्ष छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती टोल विकास संस्थाका अध्यक्ष बसन्तकुमार देवकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सदस्य इश्वर जमकट्टेले सञ्चालन गरेका थिए ।कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।