भरतपुर,बैशाख ६- नारायणी नदीकिनारमा फोहोर पुरेर चितवन महोत्सव गरेको मुद्दामा सर्वाेच्च अदालतले अन्तिम आदेश दिएको छ । सोमबार बसेको न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले नदीकिनारमा गाडेको फोहोर निकाल्न र नदी प्रदूषित हुने कुनै पनि कार्य नगर्न अन्तिम आदेश दिएको हो ।
२०७९ पुस २२ गते बसेको नहकुल सुवेदीको एकल इजलासले नदीकिनारमा गाडेको फोहोर निकालेर अन्यत्र विसर्जन गर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश रद्द गर्न माग गर्दै उद्योग वाणिज्य संघ–चितवनले माघ २९ गते निवेदन दिएको थियो । संघको मागबमोजिम आदेश दिन सोमबार बसेको इजलासले इन्कार गरेको हो ।
अन्तरिम आदेश बदर गर्न माग गर्दै संघका तर्फबाट भक्तपुरकी सरस्वती थापाले सर्वाेच्चमा निवेदन दिएकी थिइन् । यससँगै नदीकिनारमा पुरेको फोहोर निकाल्न उद्योग वाणिज्य संघ बाध्य भएको छ । नदीकिनारको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएको र महोत्सव आयोजना गर्न सार्वजनिक सम्पत्ति उपयोग गरेबापत संघले भरतपुर महानगरलाई पाँच लाख रूपैयाँ बुझाएको निवेदनमा उल्लेख छ ।
‘सार्वजनिक सम्पत्तिको संरक्षक नै नभएको संस्था उद्योग वाणिज्य संघ–चितवनले महोत्सव गर्न नारायणी नदीकिनारमा गाडेको फोहोर अविलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्यसमेत हुन नदिनू भनी जारी भएको अन्तरिम आदेश संविधान र कानुनको विपरीत’ भएको संघको तर्फबाट दिइएको निवेदनमा उल्लेख थियो ।
पुस २५ गतेदेखि माघ ४ गतेसम्म आयोजना गरिएको महोत्सवका लागि नदीकिनारको सतह मिलाउन भरतपुर महानगरपालिकाको सहमतिमा संघले फोहोर पुरेको थियो । नदी प्रदूषित हुने गरी फोहोर पुरिएपछि फोहोर निकाल्न माग गर्दै युवा अभियन्ताहरुले निरन्तर विरोध गरे । तर, उनीहरुको कुरा संघले सुनेन, न भरतपुर महानगरले नै सुन्यो ।
सर्वाेच्चको अन्तिम आदेश आइसकेकाले नदीकिनारमा गाडेको फोहोर हट्नेमा विश्वास बढेको युवा अभियन्ता इन्जिनियर सागर कार्कीले बताए । ‘सर्वाेच्चको आदेशले अब त फोहोर हट्छ कि भन्ने विश्वास बढाएको छ । यसपछि पनि हटेन भने त्यो न्यायालयविरूद्धको गम्भीर अपहेलना हुनेछ । सर्वोच्च अदालतको फैसला यथाशीघ्र कार्यान्वयन गर्न म उद्योग वाणिज्य संघलाई अनुरोध गर्दछु’, उनले भनेका छन् ।
प्रकाशित मिति: