राष्ट्रपति रनिङ शिल्डमा छनोटप्रति गवै माविको आपत्ति

0
64

खैरहनी,बैशाख ६- प्रथम भएको विद्यालयलाई जानकारी नगराई अन्य विद्यार्थी समेटेर बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराएकोप्रति माध्यमिक विद्यालय गवैले आपत्ति जनाएको छ । कबड्डीमा मावि गवै नगर र जिल्लामा प्रथम भएको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा पनि प्रथम भएको विद्यालयलाई कुनै जानकारी नगराई अन्य विद्यालयबाट विद्यार्थी समेटेर बागमती प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराएकोमा मावि गवैले बुधबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । बागमती प्रदेशस्तरीय प्रतियोगितामा विजेता विद्यालयबाट एक जना पनि विद्यार्थी सहभागी हुन पाएका थिएनन् ।

सहायक प्रधानाध्यापक केदार शिवाकोटीले जारी गरेको विज्ञप्तिमा छनोट प्रक्रिया कसरी गरिएको हो भनी प्रश्न गरिएको छ । प्रथम भएको आफ्नो विद्यालयलाई जानकारी नगराइएको, आफ्नो विद्यालयबाट एक जना पनि विद्यार्थी सहभागी हुन नपाउनुको कारण के हो भनी जिज्ञासा राख्दै सम्बन्धित खेलको कोच एवम् जिल्ला खेलकुद विकास परिषद् चितवनसँग जिज्ञासाको उत्तर माग गरिएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यही वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो । सो प्रतियोगितामा जिल्ला खेलकुद विकास परिषद्ले छनोट गरेको टिम पहिलो खेलमै पराजित भएको थियो ।