शेरमानको घर बनाउन एउटै व्यक्तिले दिए डेढ लाख

0
40

खैरहनी ,वैशाख ६- खैरहनीका स्थानीयलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन भूमिका खेल्दै आएका शेरमान तामाङका लागि सहयोग जुटाएर घर निर्माण भइरहेको छ । तामाङ पर्सा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष हुन् ।

संस्थामा दुई कार्यकाल अध्यक्ष भएर उनले खैरहनीका धेरैको घरमा शुद्ध पानी पुर्‍याउने काम गरेका छन् । समाजका लागि काम गर्दैगर्दा उनको आफ्नो सम्पत्ति सकियो । खानेपानीमा लामो समय योगदान गरेका उनका लागि सम्मानस्वरुप घर निर्माण गर्न समाजसेवी मुरली गजुरेलसहितको टिम सक्रिय छ । सोही टिमको सामूहिक प्रयासले अहिले खैरहनी–९, करैयामा तामाङका लागि घर निर्माण भइरहेको हो ।

व्यक्ति, संघसंस्थाको सहयोगकै भरमा घर निर्माण भइरहेको छ । समाजकै लागि योगदान दिएका तामाङका लागि घर निर्माण भइरहेको थाहा पाएपछि बुटवल स्थानीय घर भई लामो समय जापान बसाइँपछि हाल खैरहनी–८ बस्दै आएका बाबुराम पौडेलले नगद सहयोग गरेका छन् ।

पौडेलले एक लाख ५० हजार रूपैयाँ र एक ट्रयाक्टर गिट्टी सहयोग गरेका हुन् । उनले सो रकम घर निर्माणस्थलमा समाजसेवी गजुरेललाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै पौडेलले समाजसेवी गजुरेलमार्फत घर निर्माण भइरहेको जानकारी पाएपछि सहयोग गरिएको र सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

शेरमानका लागि खैरहनीका समाजसेवीहरुले रकम संकलन गरेरै १३ धुर जग्गा किनेका थिए । सो जग्गाको मूल्य १८ लाख ३९ हजार परेको छ । सोही जग्गामा घर निर्माण गरिएको हो । कुनै बेला उद्योगका मालिक रहेका तामाङ बाढीको चपेटा र सामाजिक कामको सिलसिलामा करिब दुई बिगाहा जमिन गुमाउँदै घरबारविहीन भएका थिए । उनी हाल खानेपानी संस्थाकै एउटा कोठामा बस्दै आएका छन् ।

समाजसेवी मुरलीप्रसाद गजुरेलका अनुसार हालसम्म यो अभियानमा १४० जनाले २१ लाख ७४ हजार रूपैयाँ सहयोग गरिसकेका छन् । अहिलेसम्म जग्गाको मूल्य १८ लाख ३९ हजारसहित करिब २५ लाख ५२ हजारबराबरको काम भइसकेको छ ।