भरतपुर,वैशाख ६- भरतपुर मेयरकप बागमती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगिता भक्तपुर र चितवन आज भएका छन् । भक्तपुरले मकवानपुरविरुद्ध ५ विकेटको जित दर्ता गर्दा चितवनले नुवाकोटलाई २३ रनले हरायो ।
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमा समेटियो । १४ रन जोडेको आफ्नो महत्त्वपूर्ण ३ विकेट गुमाएको मकवानपुरले खेलको लय समात्न नसक्दा सामान्य योगफलमा सिमित भयो । मकवानपुरका लागि आशिक अधिकारी र रोहित ठाकुरले समान २५ रन जोडे । यस्तै अमन कुमार यादव र रौशान कुमार रायले १२–१२ बनाए । यसबाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।
मकवानपुरलाई सामान्य स्कोरमा रोक्नेक्रममा भक्तपुरका विवेक यादवले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ३ विकेट लिए । संयम नेपाल र जेसन अधिकारीले समान २ विकेट लिदा आकाश कुमार शाह र पुजन भण्डारीले १–१ विकेट हात पारे ।
१ सय १० रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भक्तपुरले १९ औं ओभरको चौथो बलमा लक्ष्य भेटायो । भक्तपुरको जितमा आकाश कुमार शाहले ३० बल खेल्दै ४ चौकासहित नटआउट २६ रन बनाए ।
यस्तै, ओपनर संयम नेपालले २८ बल खेल्दै ४ चौका र १ छक्काको मद्धतमा २९ रन जोडे । सातौं ओभरको चौथो बलमा उनी अमन कुमार यादवको बलिङमा गोकुल अधिकारीको हातबाट आउट भए । मध्यक्रममा रोहित शर्माले २० रन बनाए ।
मकवानपुरका लागि ४ दशमलव ४ ओभर बलिङ गरेका अमन कुमार यादव १९ रन खर्चदै २ विकेट लिए । रोशन कुमार यादव, रौशान कुमार राय र रोहित ठाकुरले समान १ विकेट लिए । भक्तपुरका संयम नेपाल खेलको प्लेयर अफ द म्याच भए ।
यसैगरी आजको अर्को खेलमा १ सय २३ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नुवाकोट २३ रनको झिनो अन्तरमा पराजित हुन पुग्यो । २० औं ओभरको चौथो बलमा अलआउट हुदै नुवाकोट ९९ रन रोकिन पुग्यो । नुवाकोटका लागि ओपनर रोशन विश्वकर्माले सर्वाधिक ३९ रन बनाए । २८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।
यस्तै संगम थापा मगरले १९ र विज्ञान चौलागाईले १६ रन जोडे । चितवनका लागि बलिङमा विशाल खत्रीले १७ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा ह्याट्रिक लिदै खेलमा फर्काएका थिए । ५ ओभर बलिङ गरेका उनले १३ रन खर्चिएर ४ विकेट लिए । यस्तै सुगम सापकोटाले २ विकेट लिदा दिपेश क्षेत्रीले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउदै १ सय २२ रन योगफल तयार पारेको थियो । चितवनका लागि सूर्याशुं कोइरालाले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ८ चौकासहित ५४ रन बनाए ।
बलिङमा नुवाकोटका आशुतोष पाण्डेले ४, सुशिल साउदले २ तथा रोसिस सुनार र रोशन विश्वकर्माले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच चितवनका विशाल खत्री चुनिए ।
प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछ । पहिलो खेलमा मकवानपुर र काठमाडौं आमनेसामने हुनेछ । अर्को खेलमा चितवनले ललितपुरको सामना गर्नेछ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भैरहेको प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: