रत्ननगर,चैत १५- चितवनको पर्यटकीय नगरी सौराहाका पुरुषलाई गैंडा र हात्तीको मूर्ति र महिलाहरुलाई सिलाईकटाइ तालिम दिइएको छ ।
बाघमरा मध्यवर्ती सामुदायिक वनले सीप विकास मार्फत आयआर्जन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो । गैंडा र हात्तीको मूर्ति बनाउने दुई महिने तालिममा १२ जना र तीन महिने सिलाइकटाइ तालिममा ११ जनाको सहभागिता रहेको थियो । गैंडा र हात्तीको मूर्ति बनाउने तालिममा कर्मादोर्जे लामा र सिलाइकटाइमा वीरेन्द्र चौधरी प्रशिक्षक रहेका थिए । दुईवटै तालिमको बुधबार समापन गरिएको छ ।
वनप्रतिको निर्भरता घटाउदै गरिवी निवारणको लागि तालिमको आयोजना गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सौराहामा गैंडा र हात्तीको मूर्तिको राम्रो बजार स्थापित भइसकेकोले युवाहरुलाई रोजगारी सृजना गर्न पहिलो पटक सो तालिम आयोजना गरिएको अध्यक्ष तामाङले बताए । उनले वन संरक्षणसंगै वन र बस्तीको सिमानामा पर्खाल लगाउने र गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिएर काम गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटाले संरक्षण र जीविकोपार्जनको कामलाई संगसंगै लैजाने सामुदायिक वनको कदम उत्कृष्ट रहेको बताए । सीप सिकेका महिलाहरुले उद्यम गर्न चाहेमा नगरपालिकाले विना व्याज दुई लाख देखि पाँच लाख सम्म ऋण प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेल, चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी,वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी लगायतले मन्तव्य राखेका थिए । वनका अध्यक्ष जीतु तामाङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् ।
प्रकाशित मिति: