घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

0
49

खैरहनी , चैत १४– खैरहनी नगरपालिकामा ८० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई खैरहनी वडा नं २ को कार्यालयले सम्मान गरेको छ । मंगलबार घरघरमा पुगेर उनीहरुलाई सम्मान गरिएको हो ।

वडाभित्रका सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय सोमनाथ लम्साललाई दोसल्लासहित पौष्टिक आहार प्रदान गरेर सम्मान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँ र वडाध्यक्ष रोहिणीप्रसाद उप्रेतीले संयुक्तरुपमा सम्मान गरेका थिए । शारीरिक अवस्था कमजोर हुने हुँदा उनीहरुलाई घरघरमै पुगेर सम्मान गरिएको वडाध्यक्ष उप्रेतीले वताए । सो वडाभित्र ८० वर्षमाथिका ७८ जना वृद्धवृद्धा छन् । उनीहरु सबैलाई घरमै पुगेर सम्मान गरिने उप्रेतीले बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शशिकुमार खनियाँले समाजलाई यो स्थानसम्म ल्याइपुर्‍याउने अग्रजहरुको अनुभव र ज्ञान नयाँ पिढीले सिक्नुपर्ने बताए । उनीहरुलाई गरिने यस्ता खाले सम्मान जति गरे पनि अपुग हुने भन्दै खनियाँले उनीहरुलाई जिउँदाका बेला संरक्षण गर्नुपर्ने, स्वास्थ्यमा ख्याल गर्नुमा जोड दिए ।

वृद्धवृद्धाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले बाआमा स्वास्थ्य कार्यक्रम लागू गरेकोसमेत उनले बताए । सम्मानसँगै सोही वडामा पनि ६८ वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।