खैरहनीमा ड्रागन फ्रुटखेती प्रविधि तालिम सुरू

0
43

खैरहनी, चैत १४ – विपन्न परिवारलाई लक्षित गर्दै खैरहनीमा ड्रागन फ्रुटखेती प्रविधि तालिम सुरू भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित तालिम पाँच दिनसम्म चल्नेछ ।

तालिमको एक कार्यक्रमका बीच मंगलबार खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले उद्घाटन गरे । सो अवसरमा खनियाँले विपन्न समुदाय, विपन्न महिलाहरुको आयआर्जन वृद्धि गराउन फस्टाउँदै गरेको ड्रागन फ्रुटखेतीसम्बन्धी तालिम आयोजना गरिएको बताए ।

आधुनिक खेती प्रणालीमार्फत गरिने खेतीबाट उत्पादन बढ्ने र आम्दानी वृद्धिमा सघाउ पुर्‍याउने उनको विश्वास छ । स्वास्थ्यवद्र्धकसमेत रहेको ड्रागन फ्रुटलाई नगदे बालीको रुपमा विकास गर्दै लैजानुपर्ने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले व्यावसायिकरुपमा खेती गर्ने गरी तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गरे । तालिममा नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेसहित कृषि प्राविधिकहरुले सहजीकरण गर्नेछन् ।

नगरपालिकाले ड्रागन फ्रुटखेतीबाहेक अन्य तालिम पनि सञ्चालन गरिरहेको छ । विपन्नलाई नै लक्षित गर्दै ब्युटिसियन तालिम र हाउस वायरिङको तालिम सञ्चालनमा रहेको र केही दिनमै टायल लगाउने तालिम सञ्चालन गरिने उद्यम विकास शाखा प्रमुख शान्ति दाहालले जानकारी दिइन् ।