सौराहामा राजश्व संकलनको लागि घरदैलो

0
47

रत्ननगर , चैत १४– चितवनको पर्यटकीय नगरी सौराहामा राजश्व संकलनको लागि घरदैलो सुरु गरिएको छ । रत्ननगर नगरपालिकाले राजश्व संकलनलाई प्रभावकारी बनाउन घरदैलो सुरु गरेको हो ।

सौराहा अन्तर्गत पर्ने वडा नं ६ र ७ का व्यवसाय र पर्यटकीय होटलहरुमा राजश्व संकलनको लागि घरदैलो सुरु गरिएको हो । राजश्व संकलनको लक्ष्य भेट्टाउन सो नगरपालिकाले फागुन १४ गते अभियान सुरु गरेको हो । एक हप्ता अघिदेखि पर्यटकीय नगरी सौराहालाई लक्षित गरी व्यवसाय दर्ता र नविकरणको लागि घरदैलो सुरु गरिएको राजश्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए ।

सौराहका होटलहरुमा दर्ता भन्दा पनि नविकरणको समस्या रहेको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा सो नगरपालिकाले ११ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षको ६ महिनामा १७ शीर्षकमा पाँच करोड १९ लाख दुई हजार ७१४ रूपैयाँ राजस्व संकलन भएपछि सो नगरपालिकाले राजश्व संकलन अभियान सूरु गरेको हो ।

पुरानै शैलीमा राजश्व संकलन गर्दा लक्ष्य भेटाउन मुश्किल देखिएपछि घरदैलो अभियान सूरु गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । रत्ननगरमा ६० प्रतिशत व्यवसायी करको दायर भित्र रहेको भन्दै चालु आर्थिक बर्षमा उनीहरुलाई दायरामा लयाउने गरी अभियान अगाडि बढेको उनको भनाई थियो ।