राप्ती, चैत २- राप्ती नगरपालिकाका मुख्य बजारहरु व्यवस्थित बनाउन सरोकारवालाहरुको सर्वपक्षीय बैठक बुधबार बसेको छ । बैठकले ठेला व्यवसायीको व्यवस्थापनदेखि सडकका अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिने निर्णय गरेको छ ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले पहिलो चरणमा भण्डारा बजार व्यवस्थापन गरी अन्य बजारमा क्रमशः काम गर्दै जाने निर्णय गरेको हो । भण्डारामा सडक अतिक्रमण गरी व्यवसाय गर्ने, ठेलामा व्यवसाय गर्ने व्यवसायीका कारण सटरका व्यवसायीलाई प्रत्यक्ष असर परेको व्यापक गुनासो आएपछि नगरपालिका, वडा कार्यालय र उद्योग वाणिज्य संघले तदारूकता देखाएका हुन् ।
भण्डारा बजारमा सडकमा जथाभावीरुपमा ठेलामा सञ्चालनमा रहेका व्यवसायलाई स्थानान्तरण गरेर जनजागृति हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको सटरमा लैजाने भएको छ । सुरूवाती चार महिना त्यहाँ व्यवसाय सञ्चालन गरेबापत व्यवसायीले भाडा तिर्नुपर्ने छैन ।
स्थानान्तरण भइसकेपछिको चार महिनामध्ये २ महिना नगरपालिका, एक महिना राप्ती उद्योग वाणिज्य संघले भाडा व्यहोर्ने छ भने एक महिना सहकारीले निःशुल्क प्रदान गर्ने बैठकले निर्णय गरेको नगरप्रमुख शमशेर लामाले बताए । ‘सबै व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ’, नगरप्रमुख लामाले भने, ‘तर अस्तव्यस्तरुपमा गर्न पाइएन, तोकिएको स्थानमा रहेर व्यवसाय गर्ने/गराउने निर्णय भएको छ ।’
त्यस्ता व्यवसायलाई चैत मसान्तभित्र स्थानान्तरण गराउने निर्णय पनि भएको छ । बैठकले ठेलागाडा तथा चोकमा राखी व्यापार गर्ने व्यवसायीलाई सहकारीको सटरमा भाडा लिनका लागि बुधबारदेखि ७ दिनको आवेदन माग गर्ने निर्णय गरेको छ ।
राप्तीका सबै स्थानका बाटोको जग्गा भोगचलन गरी आएका संरचनाहरु हटाउनका लागि १५ दिने सूचना प्रकाशित गर्ने र समयसीमाभित्र संरचना नहटाएमा बैठकलाई आधार मानी संरचना हटाउने निर्णयसमेत गरेको छ । त्यस्तै, पार्किङ व्यवस्थापन, फोहोर संकलनका लागि डस्टबिनको व्यवस्थापन गर्ने पनि बैठकले निर्णय गरेको नगरप्रमुख लामाले बताए ।
राप्ती नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष सीताराम वलले बजार व्यवस्थापनसँगै शौचालयको निर्माण गर्नुपर्ने बताए । ‘भण्डाराको मुख्य समस्या भनेको सार्वजनिक शौचालय छैन’, वडा अध्यक्ष वलले भने, ‘वडाले शौचालय निर्माणका लागि बजेट व्यवस्थापन गरेको छ, नगरले थप गर्नुपर्छ, जग्गा पहिचान गरेर निर्माण कार्य तत्काल गर्नुपर्छ ।’ ठेलागाडा, पार्किङको उचित व्यवस्थापनपछि सरसफाइलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नगरप्रमुख लामाको कार्यकक्षमा भएको बैठकमा जिल्ला समन्वय समिति सदस्य गुनु विक, वडाध्यक्षहरु, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलसहित पदाधिकारी र सदस्यहरु, जनजागृति हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेल, भण्डारा बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: