चितवनमा विशेषज्ञ डाक्टरको नाममा अर्कै डाक्टरले गरे उपचार

0
51

भरतपुर, चैत २- चितवन मोडल अस्पताल प्रालि भरतपुर–१० दुरसञ्चार रोडमा विशेषज्ञ डाक्टरको नाममा मेडिकल अफिसरले उपचार गरेको पाइएको छ । अर्का एक जना डाक्टर नै यस घटनामा पीडित बनेपछि विषय सार्वजनिक भएको हो ।

बुधबार बिहान यात्राको क्रममा डा. राजेन्द्रबहादुर श्रेष्ठको गाडीको लुकिङ ग्लासले भरतपुरकी एक महिलालाई ठक्कर दियो । धन्न उनी भुईँमा लडिनन् । पाखुरामा ठक्कर लागेपछि ती महिला छलफल र उपचारका लागि भनी ट्राफिक प्रहरी कार्यालय पुगिन् । उपचार प्राथमिकताको विषय भएकाले नजिकैको चितवन मोडल अस्पतालमा उनको उपचार गर्न लगियो । उपचार त सुरू भयो तर, अनौठो घटना टिकट काटेपछि सुरू भयो ।

अस्पतालमा हाडजोर्नीको विशेषज्ञका रुपमा डा. रुपेशकुमार झा छन् । उनी दिउँसोको समयमा मोडल अस्पतालमा हुन्नन् । सो समयमा उनी रत्ननगरमा रहेको बकुलहर अस्पतालमा काम गर्छन् । विशेषज्ञ डाक्टर भएकाले उनको नाममा सात सय रुपैयाँको टिकट काटिएको छ । तर सेवा दिने बेला मेडिकल अफिसरले दिए ।

घटनामा घाइते भएकी महिलाको उपचार सहजीकरणका लागि डा. राजेन्द्रबहादुर श्रेष्ठ आफै त्यस अस्पतालमा गएका थिए । उनी आँखाको विशेषज्ञ डाक्टर हुन् । उपचारको क्रममा जब खुट्टामा आधा पलास्टर गरियो अनि डा. श्रेष्ठ अचम्मित भए । किनकी एक्सरे रिर्पोटमा कुनै टुटफुट थिएन वा आधा प्लास्टर गर्नुपर्नेसम्मको अवस्था थिएन । सामान्य अवस्थामा पनि जटिल उपचार गरेपछि डा. श्रेष्ठले उपचार गर्ने डाक्टरसँग सोधपुछ गरे । टिकटमा उल्लेख भएको डाक्टर रुपेश कुमार झा हो तपाई ? भनेर सोधे, सुरुमा त हो पनि भने तर मैले आफू पनि डाक्टर भएको जानकारी गराएपछि उनले वास्तविक परिचय दिए, डा. श्रेष्ठले भने ।

नेपाल मेडिकल काउन्सिलबाट जारी भएअनुसार डा. झाको नम्बर ९०५९ छ । उपचार गर्ने डा. निश्चिल कार्कीको नम्बर ३१४०७ छ । ‘मान्छे भर्खरको तर काउन्सिल नम्बर पुरानो देखेपछि शंका लागेर सोधपुछ गर्दा विशेषज्ञ डाक्टरको नाममा मेडिकल अफिसरले उपचार गरेको पाएँ, डा. श्रेष्ठले भने । एउटा डाक्टरको नाममा अर्कैले उपचार गरेको, उपचारका लागि आवश्यक नै नभएको प्लाष्टर गरिदिएको भनेर उनले मेडिकल काउन्सिलमा पनि मौखिक जानकारी गराएको बताए । आफू ठगिए पनि अरु नठगिउन भनेर विषय सार्वजनिक गरेको डा. श्रेष्ठ बताउँछन् । चितवन मोडल अस्पतालका व्यवस्थापक सुदर्शन रिजालले मेडिकल अफिसर र विशेषज्ञ डाक्टरको आपसी समन्वयमा उपचार भएको प्रतिक्रिया दिए । ‘मेडिकल अफिसर पनि डाक्टर नै हुन झा पनि डाक्टर नै हुन उपचार गर्ने सवालमा जसले गरे पनि केही फरक परेन, उनले भने ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले विशेषज्ञ डाक्टरको नाममा टिकट काटेर मेडिकल अफिसरले बिरामी हेरेपनि बिरामीको अवस्था र उपचार प्रक्रियाबारे समन्वय आवश्यक हुुनुपर्ने बताए । ‘इमरजेन्सीमा मेडिकल अफिसर ड्युटीमा हुन्छन्, म ३ वजेपछि आएको थिए तर बिरामीसँग भेट भएन, डा. रुपेशकुमार झाले भने । विहान १० वजे घटना भएकोमा विशेषज्ञ डाक्टर नआएपछि बिरामी भने अन्य अस्पतालमा थप उपचार गर्न गएका थिए ।