प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला आज देखि सुरू

0
77
नवलपुर,फागुन २१- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सुरू भएको छ । आइतबारदेखि सुरू भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नं २ का संघीय सांसद् प्राडा शशांक कोइरालाले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने दाबी गरे । उनले भने, ‘हुन त मलाई कृषिमन्त्री बन्न मन छैन । तर, मैले कृषि मन्त्रालयको जिम्मा लिएँ भने कृषिमा अचम्मको कुरा गर्नसक्छु भन्ने आत्मविश्वास मसँग छ ।’ नेता कोइरालाले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना भएको भन्दै कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने ठोकुवा गरे ।
नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिन भएको उल्लेख गर्दै नेता कोइरालाले कृषियोग्य जमिनबाट भएको उब्जनीबाट तीन करोडमात्रै नभएर २५ करोड जनताका लागि खाद्यान्न पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । नेपालमा कृषि क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि जमिनहरु बाँझो राख्नु दुर्भाग्य भएको उनको भनाइ थियो ।
‘अहिले गाउँमा गयो भने जमिनहरु बाँझो र रित्तो छन्’ उनले भने, ‘हामीले कृषिलाई प्रोत्साहन गर्नुपर्‍यो ।’ सरकारले कृषिलाई अनुदान दिन सक्नुपर्ने भन्दै नेता कोइरालाले कृषिमा सरकारले एक प्रतिशत पनि बजेट छुट्याउन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म पुर्‍याउन सकियो भने नेपालको व्यापार घाटा कम हुने बताए । व्यवसायी ढकालले गण्डकी प्रदेश धेरै सम्भावनाहरु बोकेको प्रदेश भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म पुर्‍याउन सकियो भने नेपालको व्यापार घाटा कम हुने बताए । ढकालले गण्डकी प्रदेश धेरै सम्भावनाहरु बोकेको प्रदेश भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सुरू भएको महोत्सवमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पुर्‍याउने बताए ।
महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० वटा स्टल रहेको भट्टचनले बताए ।
‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरू भएको महोत्सव चैत १ गतेसम्म सञ्चालन हुनेछ । करिब रु १० करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए ।
महोत्सव सुरू हुनुपूर्व गैँडाकोटको भृकुटीचोकबाट विभिन्न जातजाति तथा संघसंस्थाहरुले सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालेका थिए । मेला अवधिभर विभिन्न सांस्कृति कार्यक्रम सञ्चालन हुनेछन् ।