पञ्चकन्या देवी मन्दिरमा यही मंसिर १३ गते देखि महायज्ञ हुँदै

0
37

रत्ननगर,मंसिर १० – पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १२ स्थित पञ्चकन्या देवी मन्दिरमा यही मंसिर १३ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको हो ।

आयोजकले शुक्रवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारीको बारेमा जानकारी गराएको हो । ऐतिहासिक महत्व बोकेको मन्दिर जोगाउन र धार्मिक पर्यटनको विकास गर्न महायज्ञ आयोजना गरिएको वडाध्यक्ष समेत रहेका महायज्ञ मुल व्यवस्थापन समितिका अध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न ९ सदस्यीय मुल व्यवस्थापन समिति,५०० सदस्यीय महायज्ञ व्यवस्थापन समिति र ८ वटा उपसमिति गठन गरिएको उनले जानकारी दिए ।

प्रथम नेपाली महिला भागवत बाचक तारामाता घिमिरेले कथा बाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माण गर्ने उद्देश्य रहेको मुल व्यवस्थापन समितिका संयोजक सुवेदीले जानकारी दिए । महायज्ञमा १० लाख खर्च लाग्ने र करिव दुई करोड संकलनल गर्ने लक्ष्य रहेको छ ।

महायज्ञमा तुलादान,भूमिदान,सामुहिक ब्रतबन्ध र पितृमोक्षको सम्मका क्रियाकलाप गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए ।

महायज्ञबाट भएको आम्दानीले मन्दिरका लागि जग्गा खरिद, विवहा मण्डप निर्माण,कम्पाउण्ड वाल निर्माण, शिव मन्दिरको स्तरोन्नती, मन्दिरबाट पञ्चनदी सम्म सिढी निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका सल्लाहकार इश्वरीप्रसाद घिमिरेले जानकारी दिए ।

महायज्ञ प्रचारप्रसार समितिकी संयोजक विरञ्जना घिमिरेले सौराहामा आएका पर्यटकलाई मनीखोला पार्कहुँदै पञ्चकन्या मन्दिर सम्म ल्याउने गरी पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताइन ।