प्रतिनिधि सभा /प्रदेश सभा निर्वाचन : तीन लाख सुरक्षाकर्मी परिचालन गरिने

0
24

काठमाडौँ, कात्तिक १ – आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सरकारले तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गर्ने सरकारको तयारी छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ।

यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा ३५ हजार बढाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । त्यतिबेला २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अहिले ३ लाख सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए । यसका लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।यो समाचार नागरिक दैनिकमा छ ।