राष्ट्रपतिको पछिल्लो कदम प्रतिगामी : नारायण दाहाल

0
22

भरतपुर, असोज २९- राष्ट्रिय सभाका सदस्य नारायणप्रसाद दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले प्रतिगमनलाई टेवा पुगेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा तथा प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिकता विधेयकलाई पास नगर्नु प्रतिगमन भएको दाहालको टिप्पणी थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन भरतपुर महानगरको दोस्रो नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका दाहालले प्रचण्डले गर्दा चर्चा पाएको चितवन क्षेत्र नं. ३ बाट गठबन्धनका साझा उमेदवार भोजराज अधिकारीलाई जिताउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए ।

त्यसैगरी भरतपुर महानगरका प्रमुख रेनु दाहालले चितवनको शैक्षिक क्षेत्रमा आर्थिक लगानी गरी गुणात्मक फड्को मारेको बताइन् । विद्यालयलाई बसदेखि बालबालिकालाई साइकल, न्यानो कपडा र दिवाखाजा वितरण गरेर सामुदायिक विद्यालयमा विद्यार्थीहरुको गुणात्मक र संख्यात्मक बृद्धि गरेको बताइन् । कार्यक्रममा क्षेत्र नं. ३ का गठबन्धनका साझा उमेदवार भोजराज अधिकारीले आफूले जितेपछि चितवनमा बन्न लागेको शिक्षक अस्पताललाई पूर्णता दिने बताए ।

शिक्षक र बालबालिकाको हकहितका लागि आफ्नो निर्वाचन क्षेत्रमा विशेष कार्यक्रम ल्याउने कुरामा पनि उनले जोड दिए ।
त्यस्तै नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले चितवन क्षेत्र नं. ३ बाट एमाले उमेदवारले उमेदवारी फिर्ता लिएपछि इमान्दार कार्यकर्ता र शुभचिन्तकले डा. भोजराज अधिकारीलाई मत दिने तयारी गरेको बताए ।

एमाले गुट र उपगुटमा विभाजन भएपछि इमान्दार नेता घनश्याम भुसाल र भीम रावलले विद्रोह गरेको तर्क पनि दवाडीले राखे ।

महानगर समितिका अध्यक्ष अर्जुन भट्टको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवम् क्षेत्र नं. ३ निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदी ‘पथिक’, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका गायत्री शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

दोस्रो नगर अधिवेशनले पुन: अर्जुन प्रसाद भट्टको अध्यक्षमा नयाँ कार्यसमिति सर्बसमत चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्ष सुनिल सिटौला, उपाध्यक्ष , चन्द्रकला रामदाम, सचिव पशुपती घिमिरे र अर्थ सहसचिवमा भेगलाल वराल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा सानुकाजी श्रेष्ठ,रमेश दवाडी ,राधा अधिकारी, रामहरि जमरकट्टेल,निरोज वास्तोला,श्यामराज लामिछाने,धर्म राज सापकोटा ,शकुन्तला अधिकारी ,कृष्ण पौडेल,नारायण गिरी ,अनिता आले,कविता पराजुली, तिलमाया देवकोटा,सज्जन पौडेल , उपेन्द्र घिमिरे ,वालकृष्ण भुषाल,अनिल घिमिरे र तुलसीराम भुषाल रहेका छन ।