अर्पण बचतको १३औँ वार्षिक साधारण सभा सम्पन्न

0
22
arpan saving

रत्ननगर , असोज २९- रत्ननगर स्थित अर्पण बचत तथा ऋण सहकारी संस्थाको शनिबार १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुखअतिथि रहेको सभामा संस्थाका अध्यक्ष मेघनाथ पौडेलले नीति तथा कार्यक्रम, सचिव किशोर चालिसेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामकुमार बजगाईंले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक दिनेश रेग्मीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उल्लेखित प्रतिवेदन साधारण सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको संस्थाका उपाध्यक्ष सुरज पौडेलले जानकारी दिए । साधारण सभामा ज्येष्ठ शेयर सदस्य मनरुपा जैसिनी, असल बचतकर्ता फणिन्द्रप्रसाद पौडेल, विष्णु अधिकारी, कुलराज शर्मा, असल ऋणी अमृतराज थपलिया, सञ्जीब थापा, श्रीमाया गुरुङ, एसइईमा उत्कृष्ट अंक ल्याउने अनमोल चापागाईं, बबिता आचार्य, सञ्चारकर्मीद्वय महेश पाण्डे र विपीनशर्मा आचार्य र उत्कृष्ट कर्मचारीको रुपमा कमला पौडेललाई सम्मान गरिएको छ ।

सो अवसरमा मन्त्री खनालले सहकारीले आयआर्जन र जीविकोपार्जनमा लगानी गर्नुपर्ने बताए । साधारण सभाले सहकारीको रिक्त रहेको सञ्चालक समितिको सदस्यमा ध्रुवराज लामिछाने र तुलसी सुवेदीलाई मनोनित गरेको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष यमन भूषाल, जिल्ला बचत तथा सहकारी संघकी सदस्य ऋतु गिरीलगायतले मन्तव्य राखेका थिए ।

विसं २०६७ सालमा स्थापना भएको सहकारीको ३ हजार ७२४ जना शेयर सदस्य रहेका छन् । सो संस्थाको शेयर पूँजी ५ करोड ७९ लाख ९८ हजार ७०० रहेको छ ।