चितवनमा भाषणको होइन विकासको आइडिया भएको नेता चाहिन्छः विक्रम पाण्डे

0
18

भरतपुर, असोज २९- पूर्वमन्त्री एवम् राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले समस्या समाधान गर्ने गाडी चलाउन तयार रहेको बताउनुभएको छ । भरतपुर महानगर–१८ को हाजिपुरमा राप्रपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवन क्षेत्र नम्बर ३ का समस्याहरु समाधान गर्न लागिपर्ने दाबी गर्नुभएको छ ।

“गाडी चलाउन तयार छु, तर त्यही सिटमा बस्न नपाएपछि गाडी चलाउन नसकिने रहेछ”, उहाँले भन्नुभयो, “मंसिर ४ मा समस्यारुपी गाडीमा चढ्ने गरी अनुमोदन गरे त्यो गाडी लिएर जानेछु, समस्याहरु हल गर्नेछु ।” उहाँले आँफु राजनीति गर्न नभई जनताको सेवक भएर काम गर्न चुनावी मैदानमा आइरहेको बताउनुभयो । “भाषणको आइडीयाले विकास आउँदैन, विकास गर्ने आइडीया भएको मान्छे चाहिन्छ”, उहाँले भन्नुभयो, “विकास गर्न जन्मेको व्यक्ति हुँ, जनताबाट अनुमोदित भए विकासको नमुना क्षेत्र बनाएर देखाउनेछु ।” उहाँ लगातार तत्कालिन चितवन–५ र चितवन–३ बाट लगातार ४ पटक निर्वाचनमा उम्मेदवार हुनुभएको थियो ।

२०७० सालमा दोस्रो संविधानसभाबाट संविधानसभा सदस्यमा निर्वाचित भएर मन्त्री समेत हुनुभएको थियो । “यो क्षेत्रका हरेक गाउँ, वस्तीबारे जानकार छु, जनताका दुख बुझेको छु”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “यसपाली भाषण होइन, विकासको भिजन भएको नेतालाई जनताले जिताउनेछन् ।” उहाँले सुकुम्बासी समस्या समाधान गर्न ठुला दलहरुले नचाहेको आरोप लगाउनुभयो ।

“३०-४० वर्ष बसिरहेको ठाउँमा लालपुर्जा दिन कसले रोकेको थियो”, उहाँले प्रश्न गर्नुभयो, “जग्गा पाएपछि स्वतन्त्र हुन्छन् भोट हाल्दैनन् भनेरै दिएनन्, भूमिहिन समस्या अब समाधान गर्नुपर्छ ।” उहाँले चितवन–३ लाई विकासकै नमुना क्षेत्र बनाउने गरी काम गर्ने हिम्मत बोकेर चुनावमा उम्मेदवार बनेको बताउनुभयो ।