रत्ननगर ७ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

0
45

रत्ननगर, असोज २९- नेकपा एमालेले रत्ननगर नगरपालिका वडा नं ७ मा सम्पर्क कार्यालय स्थापना गरी शनिवार उद्घाटन गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी सौराहा स्थित चराचोकमा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्ने पार्टीका उम्मेदवार तथा नेताहरुले आसन्न निर्वाचनमा एमालेले बहुमत सिट जित्ने दावी गरे । मुलुकमा देखिएको अन्यौलता चिर्न र विकासको अगुवाई गर्न एमालेको जित आवश्यक रहेको भन्दै उनीहरुले एमालेको विजयीलाई कसैले रोक्न नसक्ने बताए ।

नेताहरुले एमालेले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ५० सिट जित्ने दावी गरे । कार्यक्रममा प्रदेश सभा “ख”का उम्मेदवार प्रकास खनाल शैलेसले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक कपिल पोखरेल र क्षेत्रीय कमिटी संयोजक यादव पाठकले एमालेको लोकप्रियतासंग डराएर गठबन्धन बनेको बताए ।

पोखरेल र पाठकले गठबन्धनलाई पराजित गर्दै एमाले पहिलो पार्टीको रुपमा स्थापित हुने दावी गरे । वडा कमिटी अध्यक्ष सुर्य तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पोखरेल, एमाले नेतृ विन्दा कार्की,वडा कमिटी उपाध्यक्ष श्रीराम सिलवाल,वडाध्यक्ष सजना महतो लगायतको सहभागिता रहेको थियो ।