शारदानगरमा ‘चिल्ड्रेन पार्क’को काम धमाधम

0
12

शारदानगर, असोज २८– पश्चिम चितवनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर–१९ स्थित शारदानगरमा स्वीमिङ पुल र पानीको फोहरासहितको चिल्ड्रेन पार्कको काम धमाधम भैरहेको छ । भरतपुर महानगरपालिका वडा नं–१९ को सक्रियता र पार्क निर्माण उपभोक्ता समितिको समन्वयमा उक्त पार्कको काम अगाडि बढाइएको हो ।

हाल महानगरपालिकाबाट १२ लाख र भरतपुर–१९ वडा कार्यालयबाट २६ लाख ५० हजार बजेट रकम छुट्टयाएर पार्कको कामलाई निरन्तरता दिइएको वडाध्यक्ष प्रकाश तामाङले बताए । झन्डै १० वर्षअगाडि चित्रवन नगरपालिकाले निर्माण प्रक्रिया सुरू गरेता पनि चित्रवन नगरपालिका भरतपुर महानगरपालिकामा गाभिएपछि पार्क बेवारिसेजस्तै बनेको हुँदा हाल निर्माण कार्यलाई गति दिइएको उनले बताए ।

बहुवर्षीय योजनाअन्तर्गत पार्कको सम्पूर्ण निर्माण सम्पन्न हुन ३ करोडभन्दा बढी खर्च लाग्ने वडा अध्यक्ष तामाङले जानकारी दिए । ‘यो बहुवर्षीय योजना हो’, उनले भने, ‘अहिले सामान्य ढङ्गबाट हेरचाह गर्न एक जना हेरालु राखिए पनि पार्कलाई व्यवस्थित गर्न अझै धेरै काम गर्नुपर्नेछ ।’ पार्कमा खानेपानी, बाल उद्यान, पिकनिक स्पटका लागि चाहिने भौतिक संरचनाहरु निर्माण गरिने उनले बताए ।

बिदाको समयका साथै बिहान–बेलुकीको समयमा स्थानीय बालबालिकालाई खेल्नका लागि सहज हुने र बालबालिकाको सर्वाङ्गीण विकास गर्न चिल्ड्रेन पार्क बनाउन लागिएको बताउँदै उनले विशेषरुपमा बालबालिकाहरुलाई केन्द्रित गरी निर्माण गरिएको यो चिल्ड्रेन पार्कको नामकरण भने नभएको उनले बताए ।

भरतपुर–१९, शारदानगर हेल्थपोस्टको पछाडि रहेको करिब ३ बिघा क्षेत्रफलमा काम गरिएको अध्यक्ष तामाङले जानकारी दिए । पर्खालसहित निर्माण हुने बाल उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायक कुर्सीलगायत अन्य विभिन्न सुविधा उपलब्ध रहने बताउँदै वडाध्यक्ष तामाङले यसै आर्थिक वर्षमा पार्कको कम्पाउन्ड पूरा हुने बताए ।

उनका अनुसार पार्कमा स्वीमिङ पुल र पार्कको चारैतिर सुन्दर पर्खाल, बीच भागमा पानीको फोहोरा, लाइटिङ, बच्चा खेल्ने चिप्लेटी, झुलालगायत खेल सामग्रीलगायतका विभिन्न बालबालिकाहरुलाई केन्द्रित गरेर खेल्ने सामग्रीहरु बनाइने छ ।

यस्तै, प्राकृतिक वातावरणको अनुभूति दिलाउन विभिन्न जंगली जनावरको मूर्तिका साथै यसभित्र हर्बल प्लान्ट बिरूवा रोपिने उनले बताए । पार्कलाई वातावरणमैत्री बनाउन सकेसम्म कङ्क्रिट, फलामलगायतका संरचनालाई कम गरिनेछ ।

जसअनुसार पार्कमा आराम गर्न टेबल, कुर्सी रुखका जरा, बोटसहितको कलात्मक आकृति रहनेछ । उक्त पार्क बालमैत्री हुने र सो पार्कभित्र विशेषगरी पुस्तकालय व्यवस्था हुनुपर्ने, विद्यालय समयभन्दा अगाडि (बिहान) र विद्यालय समय सकिएपछि (बेलुकी) पार्क खोल्नुपर्ने, बालबालिकाका लागि आवश्यक भौतिक संरचना निर्माण गरेमा अझै राम्रो हुने वडाध्यक्ष तामाङ बताउँछन् ।

‘पार्कमा विभिन्न खेल संरचनाहरु बनाइने छ । पार्कमा बालबालिकाले सहज र सुरक्षितरुपमा खेल्न, रमाउन सक्छन्’, उनले भने । महानगरले स्मार्ट सिटी बनाउने लक्ष्यसहित हरियाली वातावरणसहितको संरचना र पार्क बनाउने उद्देश्यले पार्क निर्माणको कामलाई तीव्रता दिएको उनले बताए ।