चितवन क्षेत्र नं ३ मा डा. अधिकारीको उमेदवारीविरूद्ध गायक योञ्जन

0
22

चितवन, असोज २८– हरि योञ्जन चितवनमा स्थापित नाम हो। उनी विद्यार्थी कालदेखि नै कलाकारितामा सक्रिय छन्। २०३५ सालदेखि नै विद्यार्थी आन्दोलनमार्फत समाज परिवर्तनको लागि योगदान दिँदै आएका योञ्जन मोफसलमा बसेर संगीत कर्ममा सफलता हासिल गर्ने कलाकार हुन्। लोकआधुनिक तथा आधुनिक गीतका गायक एवम् सर्जक योञ्जन यतिबेला चितवन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार बनेका छन्।

चौथो महाधिवेशन मसालमा आवद्ध भएयता राजनीतिमार्फत मूल पार्टीमा आवद्ध हुँदै हाल नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका योञ्जनले यसपटक सत्ता गठबन्धनको विरूद्ध उमेदवारी दिएका हुन्। गठबन्धनको नाममा नेताहरूले पार्टीको सिद्धान्त मिचेको भन्दै पार्टीलाई सही बाटोमा हिँडाउने अभियानमा लाग्नको लागि प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएको उनी बताउँछन्।

‘म पनि सानैदेखि राजनैतिक चेत भएको व्यक्ति हुँ। ३५ सालदेखि विद्यार्थी आन्दोलनमा होमिँदै आएको व्यक्ति हुँ,’ उनी भन्छन्, ‘समाज परिवर्तन गर्नको लागि भनेर म लाकारितामार्फत पार्टीमा योगदान दिँदै आएको थिएँ। तर, आज पार्टीको विधि र विधानविपरीत नेताले आफ्नो स्वार्थ पूरा गर्न लागेपछि मैले आफ्नो विवेक प्रयोग गरेको हुँ।’ आफूलाई नेकपा माओवादी केन्द्रको इमान्दार सिपाही मान्दै आएका योञ्जन नेताहरूले गठबन्धनको नाममा सच्चा कार्यकर्ताको भावनामा ठेस पुर्‍याएका कारण पार्टीलाई सही ढंगबाट चल्न दिनुपर्छ भन्ने लक्ष्य लिएर उमेदवारी दर्ता गराएको बताउँछन्।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा परेको यस निर्वाचन क्षेत्रमा डा भोजराज अधिकारी चुनावी मैदानमा छन्। स्वास्थ्य क्षेत्रमा लोकप्रिय मानिएका डा. अधिकारीको उमेदवारीबारे जिल्लामा कुनै छलफल नै नभई केन्द्रबाट निर्णय पठाएकोले आफूहरूको लागि उक्त निर्णय स्वीकार्य नहुँदा फरक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ।

‘प्रचण्ड भनेको कुनै व्यक्ति होइन, दर्शन हो, गौरव हो, विचार हो, निष्ठा हो, स्वाभिमान हो। तर, आज त्यही प्रचण्ड पुष्पकमल दाहालमा परिणत भयो,’ उनले भने, ‘त्यही प्रचण्डको खोजी गर्न पनि मैले उमेदवारी दिएको हुँ।’ नेकपा माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति पार्टी गठन भएपछि डा. बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका योञ्जन हाल नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ केन्द्रीय प्राज्ञिक परिषद्का सदस्य पदमा छन्।

तर, आफ्नै पार्टीको उमेदवार भएको चितवन क्षेत्र नं ३ बाट उमेदवारी दिएका योञ्जन आफूले जित्नको लागिभन्दा पनि पार्टीको सिद्धान्तलाई मर्न नदिन उमेदवारी दिएको बताउँछन्। ‘डा भोजराज अधिकारी मेरा लागि पनि प्रिय पात्र हुनुहुन्छ। तर, पार्टीभित्र उहाँको योगदान त मैले अहिलेसम्म देखेको छैन। कहीँ सक्रिय भएर लागेको पनि देखिनँ,’ उनले भने, ‘त्यसैले पार्टीभित्र योगदान दिनेको मनमा ठेस लागेको हुँदा आउँदा दिनमा पार्टीले गलत निर्णय नलिइयोस् भन्ने हेतुले पनि म चुनावी मैदानमा उत्रिन बाध्य भएको हुँ।’

पार्टीलाई नै सुधार्नुपर्छ भन्ने मानसिकता भएकोले तत्काल कुनै पनि पार्टी रोज्न नचाहेको पनि उनले प्रस्ट्याए। हामोनियम चुनाव चिन्ह लिएर उमेदवार बनेका उनले चुनाव चिन्ह भने आफ्नो नाम र पेसाको आधारमा रोजेको उनी बताउँछन्। ‘सबैले रोजिसकेपछि बाँकी रहेका केही चिन्ह हेर्दा हार्मोनियम देखेँ। नेपाली वर्णमालाअनुसार मेरो नामको पहिलो अक्षर ‘ह’ अन्तिममा आयो। त्यसैले नाम र पेसासँग मेल खाने भएकोले चुनाव चिन्ह पनि हार्मोनियम नै रोजेँ,’ उनले भने, ‘आफू पनि सरस्वतीको विद्यार्थी भएकोले चुनाव चिन्ह पनि सरस्वतीको वहान रोजेको हुँ।’

भरतपुर–२ क्षेत्रपुर निवासी योञ्जनको ‘सिम्रन’बोलको गीत बहुचर्चित गीत हो। ‘बिहे गर्छम् गर्छम्’, ‘आस्याङकी छोरी’, ‘छुलाङ हाम्रो पुर्खाको गाउँ’लगायत दर्जन बढी गीत चर्चित छन्। उनको सिर्जना र आवाजमा रहेको दर्जन बढी तामाङ सेलोसमेत चर्चामा छन्।

यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विक्रम पाण्डे चुनावी मैदानमा छन् भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि गठबन्धनको निर्णयविरुद्ध उमेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा भुइँकटकर चुनाव चिन्ह लिएर भरतपुर महानगरपालिकाको मेयर पदमा उमेदवार बनेका कांग्रेसका निलम्बित नेता जगन्नाथ पौडेल पनि चुनावी मैदानमा छन्।