रत्ननगर अस्पताललाई डायलासिस सेन्टर हस्तान्तरण

0
24
Bakular ratnanagar hospital

रत्ननगर, असोज २७– बकुलहर रत्ननगर अस्पतालमा सञ्चालनमा रहेको डायलासिस सेन्टर सोही अस्पतालको स्वामित्वमा आएको छ । सञ्चालन भएको सात बर्ष पछि डायलासिस सेन्टर अस्पतालको स्वामित्वमा आएको हो ।

राष्ट्रिय मृर्गौला उपचार केन्द्र काठमाडौंले २०७२ सालमा चितवन युनिटका रुपमा सो अस्पतालमा डायलासिस सेवा सुरुवात गरेको थियो । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी राष्ट्रिय मृर्गौला उपचार केन्द्रले उपकरण, कर्मचारी सहित डायलासिस सेन्टर अस्पताललाई हस्तान्तरण गरेको हो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा.ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष गोपालराज कर्मचार्यले डायलासिस सेन्टरको स्वामित्व हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, रत्ननगरका मेयर प्रल्हाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, रत्ननगरका संस्थापक मेयर तथा अस्पतालका संस्थापक अध्यक्ष नारायण वन तथा पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य सचिव खड्काले डायलासिस सेन्टर सञ्चालन गर्न रत्ननगर अस्पताल सक्षम रहेको बताए । रत्ननगर अस्पताल प्रदेशकै नमुना अस्पताल रहेकाले प्रदेश सरकारले डायलासिस सेन्टर सञ्चालन गर्ने बताए ।

प्रदेश भित्रका सात वटा अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको भन्दै उनले सात अस्पताल मध्य रत्ननगर अस्पताल अग्रपंक्तिमा रहेको बताए । मेयर सापकोटाले डायलासिस सेन्टर रत्ननगर अस्पतालको विकासको आधारको रुपमा रहेकाले यसको सञ्चालनको लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक डा.काफ्लेले अस्पताललाई हस्तान्तरण गरिएको भएपनि डायलासिस सेन्टर सञ्चालनको लागि सहयोग गर्ने बताए । आवश्यक परे समय समयमा डाक्टर समेत उपलब्ध गराउछौं उनले भने हामीले अस्पतालाई उपहारको रुपमा डायलासिस सेन्टर प्रदान गरेका छौं ।

रत्ननगरका संस्थापक मेयर वनले ठुलो प्रयासले रत्ननगर अस्पताललाई स्थापित गरिएको भन्दै यसको विकासमा कमजोरी गर्न नहुने बताए । शान्तिमेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथको पहलमा सोलार पाबरबाट डायलासिस सेन्टर सञ्चालनमा ल्याइएको भन्दै उनले राष्ट्रिय मृर्गौला उपचार केन्द्र र डा.गोन्सेथको योगदानलाई विर्सन नहुने तर्क गरे । अस्पतालका पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले २०६५ सालमा १५ वेडको स्विकृति पाएर सञ्चालनमा आएको बकुलहर रत्ननगर अस्पतालको सेवा सुधारसंगै भौतिक पूर्वाधार निर्माणले भरिपूर्ण बनेको बताए ।

अस्पतालका मेसु डा.मदन ज्ञवालीले डायलासिस सेन्टरमा अहिले सम्म ७०० जनाले सेवा लिएको बताए । अहिले ४५ जना मृर्गौलाका विरामीले नियमित रुपमा डायलासिस सेवा लिइरहेको उनले जानकारी दिए । उनले हाल ५ वटा मेसिन सञ्चालनमा रहेको र प्रदेश सरकारबाट थप ५ वटा मेसिन प्राप्त भएको र एक हप्ता भित्र सञ्चालनमा आउने बताए ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष गोपालराज कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मृर्गौला उपचार केन्द्र र केन्द्रका कार्यकारी निर्देशकलाई अस्पतालले सम्मान गरेको छ । अस्पतालका जनस्वास्थ्य अधिकृत रामचन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईँ मन्तव्य राखेका थिए ।