चितवन कारागारमा कैदीबन्दी त्रिपालको साहरामा रात कटाउन बाध्य

0
30

चितवन,असोज २७-  क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीहरुले त्रिपालको साहरा लिनु परेको छ ।

अहिले दैनिक १२ जना कैदीबन्दीहरु रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य रहेका छन् । २८० जनाको क्षमता रहेको यस कारागारमा अहिले ७७८ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा तेव्वर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो “कारागारमा अहिलेको समस्या भनेको कैदीबन्दी बढी हुँदा त्रिपाल मुनी बस्नुपर्ने रहेको छ ।”

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन बिभागलाई जानकारी गराईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिभागमा सबै जानकारी गराएका छौ । सबै तीर यस्तै समस्या हो ।”

उहाँले थप्नुभयो “कैदी बन्दीको चाप वढेपछि साउनमा केही कैदी स्थानान्तरण समेत गरेका थियौ । फेरी चाप बढ्न थाल्यो ।” चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । स्थानान्तरणको समयमा समेत त्रिपाल मुनी बस्नु पर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उहाँले जानकारी दिनुभयो । २ सय ५५ जना पुरुष कैदी बन्दीको क्षमता रहेको ठाउँमा ७२९ जना र २५ जनाको क्षमता रहेको महिला कैदी गृहमा ५९ जना रहेका छन् । चार जना नावालिक रहेको आचार्यले जानकारी दिनुभयो ।

यस कारागारमा छिमेकी जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा कैदीबन्दीको संख्या दिनहुँ बढ्दै गएको आचार्यले बताउनुभयो । बिषेशगरी नवलपुर, मकवानपुर जिल्लाबाट यस कारागारमा बढी संख्यामा कैदी वन्दी आउने गर्दछन् । उपचारका लागि समेत बाहीरी जिल्लाबाट कैदीबन्दी चितवन आउने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाई भएको हो ।