प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का

0
30

लमजुङ, असोज २६- मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका हुन् ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए ।

दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।

राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउादै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउादै आएका छन् ।

मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए ।