प्रतिनिधिसभाको लागि रौतहट क्षेत्र नम्बर ३ मा एमाले नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

0
147

रौतहट,असोज २३ – नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्।

उनले जसपाका अधिकांश स्थानीय नेतालाई एमालेमा प्रवेश गराएको र पछिल्लो समय पार्टीले जसपासँगै गठबन्धन गरेपछि उनले नयाँलाई मन बुझाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको आकलन गरिएको छ।

रौतहटको कटहरियास्थित प्रतिष्ठान भवनमा उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेपछि उनका प्रतिनिधिले कटहरियास्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका थिए।

गत निर्वाचनमा माओवादीको टिकटबाट प्रतिनिधिसभामा निर्वाचित भएर नेकपा विभाजनपछि उनी एमालेमा रहेका थिए।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेपछि पूर्वमन्त्री साह असन्तुष्टि जनाउँदै आएका थिए।

साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि निर्वाचन क्षेत्र ३ अन्तर्गत ख का प्रदेश सभा सदस्यका लागि एमालेबाट टिकट पाएका कुन्दन कुशवाहाले पनि स्वतन्त्र मनोनयन दर्ता गराएका छन्।

क्षेत्र ३ मा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका धीरज पटेलले मनोनयन दर्ता गराएका छन्। कटहरियास्थित निर्वाचन कार्यालयमा पटेलले मनोनयन दर्ता गराएका हुन्।

उता प्रदेश क निर्वाचन क्षेत्रमा एसका नागेन्द्र साह र ख मा कांग्रेस जिल्ला सभापति सुनील यादव जितेन्द्रले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।