भरतपुर , असोज १० – दसैँको मुखमा खाद्यान्नको मूल्यसूची सार्वजनिक भएको छ । किराना व्यवसायी संघ चितवनले खाद्यान्नको मूल्यसूची सार्वजनिक गरेको हो । संघले उपभोक्ताले खरिद गर्ने मूल्य सार्वजनिक गरेको जनाएको छ ।
किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलका अनुसार दसैँमा जुनकुनै उपभोक्ता ठगिन नपरोस् भन्ने हेतुले मूल्यसूची सार्वजनिक गरिएको हो । अध्यक्ष पौडेलले भने, ‘खाद्यान्न खरिद गर्दा किराना व्यवसायी संघले तोकेभन्दा बढी मूल्य तिर्न पर्दैन, उपभोक्ता र व्यवसायीका लागि खाद्यान्न खरिदमा एकरुपता हुनेछ ।’
किराना व्यवसायी संघले प्रतिकिलो चिनीको खुद्रा मूल्य ९० तोकेको छ । आयोडिनयुक्त नुन प्रतिप्याकेट २० रूपैयाँ राखेको छ । नुनको प्रत्येक प्याकेट एक किलोको हुन्छ । संघका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले चिनी बढेर किलोको ९५ पुगेको र अहिले प्रतिकिलो ५ रूपैयाँ घटेको बताए । उनले भने, ‘कुनै समय चिनी खरिदमा केही असहज अवस्था थियो भने अहिले सहज भएको छ ।’
श्रेष्ठले सबै किराना व्यवसायीहरुलाई चिनी ९० रूपैयाँमा बिक्रीवितरण गर्न आग्रह गरेको बताए । उनले भने, ‘किराना व्यवसायी संघमा आबद्ध भएका व्यवसायीहरुले संघले निर्धारण गरेको मूल्यमा नै खाद्यान्न सामग्री विक्रीवितरण गर्नेछन् ।’ उनका अनुसार विशेष छूटमा खाद्य सामग्रीका मूल्यसूची सार्वजनिक गरिएको हो ।
सोना चामलको मूल्य प्रतिकेजी ५० रूपैयाँ र सावित्री चामलको मूल्य प्रतिकेजी ५५ रूपैयाँ निर्धारण गरिएको छ । जिरा चामल किलोको ८० र सोनम चामलको मूल्य किलोको ९० रूपैयाँ तोकिएको संघले जनाएको छ । संघका अध्यक्ष हरिराज पौडेलले चामलको मूल्य बढेको बताए । उनले भने, ‘धानको मूल्य बढेसँगै चामलको मूल्य पनि बढेको छ, तर अन्य खाद्यवस्तुको मूल्य यो दसैँको मुखमा बढेको छैन ।’
यसपटक किराना व्यवसायी संघले आलु र प्याजको मूल्य पनि सार्वजनिक गरेको छ । तर, आलु–प्याजको मूल्य एक/दुई दिनमै फेरबदलका रुपमा आउन सक्नेछ । संघले आलु र प्याजको मूल्य प्रतिकिलो ५० रूपैयाँ निर्धारण गरेको छ ।
संघले आयातित सनफ्लावर तेलको मूल्य प्रतिलिटर २६० र आयातित तोरीको मूल्य पनि २६० रूपैयाँ नै तोकेको छ ।
निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार तोरीको मूल्य कोरोनाको समयमा बढेको र क्रमशः घट्दै आएको छ । उनले भने, ‘आयातित तोरी र सनफ्लावरको मूल्यमा ह्रास आइरहेको छ, कच्चा पदार्थको मूल्यमा गिरावट आएसँगै तेलको मूल्यमा पनि क्रमशः घट्दै आएको हो ।’ सोयाबिन तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रूपैयाँ छ । लोकल भटमासको तेलको मूल्य प्रतिलिटर १६० कायम गरिएको छ । संघले सार्वजनिक गरेको मूल्यसूचीमा मस्यौरा प्रतिकिलो १५०, बोडी प्रतिकिलो १६०, राजमा प्रतिकिलो १५० रूपैयाँ तोकिएको छ ।
दालको खुद्रा मूल्य पनि यथास्थितिमै रहेको छ । मुुसुरो दाल प्रतिकिलो १५०, मास दाल प्रतिकिलो १५५, मुगु दाल खोस्टा प्रतिकिलो १६०, रहर दाल (पोलिस) प्रतिकिलो १७०, मुगु दाल प्रतिकिलो १८० रूपैयाँ रहेको किराना व्यवसायी संघले जनाएको छ ।
यस्तै, खुला आँटा प्रतिकिलो ६२ र खुला मैदा ७५ रूपैयाँ कायम रहेको संघको भनाइ छ । सेतो केराउ र हरियो केराउको खुद्रा मूल्य प्रतिकिलो १२५ रूपैयाँ निर्धारण गरिएको छ ।
संघका अध्यक्ष पौडेलका अनुसार चना प्रतिकिलो १०० रूपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् भने चिउरा प्रतिकिलो ७५ रूपैयाँ निर्धारण गरिएको छ । आँटा ६२, मैदा ७५ र सुजी ९० रूपैयाँ किलो रहेको संघले जनाएको छ ।
संघका अध्यक्ष पौडेलले भने, ‘चाडबाडको समयमा उपभोक्तालाई ठूलो मर्का नपरोस्, महँगीको मारमा उपभोक्ताहरु नपरुन् भन्ने उद्देश्यले थोरै मुनाफा राखेर खाद्यवस्तु बिक्रीवितरण गर्न हरेक व्यवसायी तयार छन् । उपभोक्तालाई पनि संघको मूल्यभन्दा बढी मूल्य नतिर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: