नेपाल मौरीपालक महासंघको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन

0
120

चितवन, असोज ८ – नेपाल मौरीपालक महासंघको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन भएका छन् ।मौरी  कहरुको आज भरतपुरमा सम्पन्न २२ औं राष्ट्रिय भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

२४ सदस्य रहेको यस समितिको बरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाई, उपाध्यक्षद्वय प्रल्हाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री रहेका छन् । महासचिवमा शालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित भएका छन् । यस्तै महासंघको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित भएका छन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका थिए । कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताए । धेरै भन्दा धेरै अनुदान भित्र्याउन उत्पादन तर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गरे । सरकारले दिने अनुदानको सदुपयोग गर्न तर्फ सबैको ध्यानाकर्षण गराए ।

राष्ट्रिय कृषक महासंघकी महासचिव रिता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘मह विदेशबाट ल्याउन तयार छ सरकार तर नीति, नियम, कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सक्दैन । ’ राज्यको नीति नहुँदा २० औं वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेकोमा जोड दिए । बस्ताकोटीले ठूला व्यवसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गरे । देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको भोटको सही मूल्याङ्कन गर्नुपर्ने उनको माग छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानहरुले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएको प्रति गुनासो गरेका थिए । कार्यक्रम नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।

नेपालमा अहिले तीन हजार देखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासंघले जनाएको छ ।