रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पद हस्तान्तरण,असोज महिनाको न्यूनतम महसुल छुट दिने निर्णय

0
82

रत्ननगर,भदौ २९- रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बुधवार पद हस्तान्तरण गरिएको छ । १२ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई पद हस्तान्तरण,सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वतमान अध्यक्ष भीष्मराज पौडेलले नवनिर्वाचित अध्यक्ष माधवप्रसाद अर्याललाई पद हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरे लगतै बसेको नयाँ निर्बाचित समितिको बैठकले असोज महिनाको न्यूनतम महसुल छुट दिने निर्णय भएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । सो संस्थाले न्यूनतम १० हजार लिटर पानी प्रयोग गरेवापत न्यूनतम मासिक ११० रुपैया शुल्क लिने गरेको छ ।

नयाँ समितिले एक महिनाको सोही न्यूनतम शुल्क नलिने निर्णय गरेको सचिव डल्लाकोटीले बताए । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको पद हस्तान्तरण कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी,रत्ननगरका मेयर प्रल्हाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक,संस्थापक मेयर नारायण वन, संस्थाका निर्वतमान अध्यक्ष भिष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा निर्वाचन समितिका संयोजक छविलाल सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।