ब्रह्मास्त्रको सिक्वेल बन्ने पक्का

0
91

एजेन्सी,भदौ २९- रणवीर कपूर स्टारर फिल्म ‘ब्रह्मास्त्र पार्ट–१ शिव’ रिलिज भएदेखि नै चर्चामा छ । फिल्मले पहिलो दिनमै कमाईका कैयौँ कीर्तिमान पनि तोडेको छ ।

ब्रह्मास्त्र रिलिजको तेस्रो दिनदेखि नै यसको दोस्रो भागको रिलिज मितिको चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ । फिल्म निर्देशक अयान मुखर्जीले एक अन्तर्वार्तामा यसबारे कुरा गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

द इन्डियन एक्सप्रेससँग कुरा गर्दै अयान मुखर्जीले भने, “ब्रह्मास्त्रको भाग २ रिलिज गर्ने हाम्रो लक्ष्य डिसेम्बर २०२५ हो। फिल्मका लागि हामीले लक्ष्य राखेका छौं । हामी फिल्म बनाउन चाहन्छौं र आगामी तीन वर्षमा रिलिज गर्ने योजनामा छौं। यो हाम्रा लागि पनि कठिन समय हो । ब्रह्मास्त्रको भाग १ बाट हामीले थाहा पायौं कि यस्ता फिल्म कसरी बन्छन्।” तर, उनले अहिलेसम्म मिति घोषणा गरेका छैनन् ।

अयानले ब्रह्मास्त्रको सिक्वेलको पहिलो भागदेखि नै स्क्रिप्टमा काम भइरहेको र कथाको लागि धेरै अनुसन्धान, सुधार पनि गरिरहेको समेत स्पष्ट पारेका छन् ।

ब्रह्मास्त्रको बजेट ४१० करोड रहेको छ । यो फिल्मले अहिलेसम्म हिन्दीमा मात्रै ११९ करोड कमाएको छ । यसले सबै भाषाहरूमा १३४ करोड कमाएको छ। फिल्मको पहिलो र दोस्रो दिनको कमाई देखेपछि ट्रेड पण्डितहरुले आगामी दुई दिनमा फिल्मले २०० करोडको आँकडा छुने बताएपनि यस्तो हुन सकेको छैन ।