सी र पुटिनबीच भेटवार्ताको तयारी

0
110

काठमाडौं , भदौ २९ – चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन् । उज्बेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा यी दुई नेताबीच भेट हुनेछ ।

दुवै देशका लागि महत्वपूर्ण स्थितिमा यी दुईको भेट तय भएको हो। राष्ट्रपति सी ऐतिहासिक तेस्रो कार्यकाल चाहिरहेका छन् भने पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा रुसको आक्रमणलाई लिएर निकै खस्किएको छ । बेइजिङ र मस्को दुवै पक्षले वार्ता सम्बन्धी थप विवरणहरू सार्वजनिक गरेका छैनन् ।

सीले बुधबारदेखि आफ्नो तीन दिन लामो कजाखस्तान भ्रमण सुरु गर्नेछन् । त्यस लगत्तै उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्बेकिस्तान पुगेर बिहीबार पुटिनसँग भेट्नेछन् ।

सम्मेलनमा उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।

सीको भ्रमण चीनमा जारी लकडाउनको बीचमा हुँदै छ। त्यहाँ अझै पनि शून्य कोभिड नीति कायम छ । भाइरससँगै बाँच्न सिक्ने भन्दै विश्वका अन्य देशहरू खुला गरिए पनि हरेकपटक सङ्क्रमण दर बढ्दा बेइजिङले सम्बन्धित सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ । पुटिनले पनि निकै दुर्लभ विदेश भ्रमण गर्न लागेका हुन्। गत जुलाईमा तेहरानमा टर्की र इरानी नेताहरूसँगको भेट उनको रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको दोस्रो विदेश यात्रा थियो ।