नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

0
201

काठमाडौं ,भदौ २९ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ । प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट सम्पन्न गरेको हो । गण्डकी प्रदेशबाट सात सय नौ खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् । चार सय चार इभेन्टमा चार सय ११ पुरुष र दुई सय ९८ महिला खेलाडीको सहभागिता रहने परिषद्ले जनाएको छ ।

सबै खेलका अन्तिम टोलीमा पर्न सफल खेलाडीलाई आगामी असोज १ देखि प्रशिक्षणमा राखिने गण्डकी प्रदेख खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार पहिलो दुई साता विशेष प्रशिक्षण र त्यसपछिका दिनमा बन्द प्रशिक्षण खेलाडीका लागि सञ्चालन हुनेछ ।

छनोट भएकामध्ये केही खेलका खेलाडीलाई हिमाली जिल्ला मनाङमा लगेर उच्च पर्वतीय (हाइअल्टिच्युड) मा प्रशिक्षण गराउने योजना रहेको छ । “अन्य प्रदेश खेलाडी छनोटको प्रक्रियामा रहँदै गर्दा हामीले तोकेको समयमा सबै खेलको छनोट गरिसकेका छौँ”, सदस्यसचिव गुरुङले भने, “असोज १ गतेदेखि दुई हप्ता विशेष प्रशिक्षण र अर्को दुई साता सबैलाई बन्द प्रशिक्षणमा राख्ने गरी योजना बनाएका छौँ ।”

प्रदेशले खेलाडीको बन्द प्रशिक्षणका लागि प्रदेश सरकारसँग थप रु दुई करोड १८ लाख बजेट माग गरेको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई पहिलो दुई साता दैनिक रु आठ सय र बन्द प्रशिक्षणमा रहँदा दैनिक र एक हजार पाँच सयका दरले भत्ता उपलब्ध गराउने योजना रहेको सदस्यसचिव गुरुङले बताए।

उनले भने, “बन्द प्रशिक्षण सञ्चालनका लागि पर्याप्त बजेट छैन । माग गरिएको बजेट छिटो प्राप्तिका लागि निवेदन दिएका छौँ । सबै बजेट नआए योजनाअनुसार प्रशिक्षण सञ्चालन गर्न सक्दैनौँ ।”

मनाङमा ‘हाइअल्टिच्युड’ मा जाने खेलाडीका लागि विज्ञहरूबाट अहिले सैद्धान्तिक कक्षा भइरहेको छ । खेलमा जानुभन्दा अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने छ । सुरुआतमा एक सय खेलाडीलाई उच्च पर्वतीय प्रशिक्षणमा सामेलगर्ने योजनारहे पनि पछिल्लो समय असोज पहिलो साता पोखरामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका कारण केही खेलाडी त्यसमै खेल्नुपर्ने भएकाले सङ्ख्या कम भएको हो ।
पोखरामा ४० वर्षपछि राष्ट्रिय खेलकुद हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । रासस