रासस आफ्नो सेवा सुदृढीकरणमा : अध्यक्ष झा

0
72
Dharmendra Jha RSS

महेन्द्रनगर ,भदौ २८ – राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस आफ्नो सेवा सुदृढीकरणमा क्रियाशील रहेको बताउनुभएको छ । भीमदत्तनगर कञ्चनपुर कार्यालयको आज निरीक्षणपछि आयोजित छलफलका क्रममा अध्यक्ष झाले राससको समाचार सामग्रीलाई स्तरीय बनाउनुका साथै सेवा विस्तारको क्रम अघि बढेको जानकारी दिनुभयो ।

“आम नागरिकको सूचना पाउने माध्यम अन्य सञ्चार माध्यम भए पनि सञ्चार माध्यमको मुहान रासस हो”, उहाँले भन्नुभयो, “खोजी समाचारलाई हामीले प्राथमिकता दिनुपर्छ ।” विगतको भन्दा समाचारको ‘फ्लो’ समेत बढेको बताउँदै अध्यक्ष झाले औपचारिक कार्यक्रमका भन्दा खोजी समाचार सङ्कलनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।

राससको समाचार अनधिकृत रुपमा हुने प्रयोग नियन्त्रण गरिने बताउँदै उहाँले संस्थाको तल्लो तहसम्मको संरचनालाई चलायमान बनाउन लागि परेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा राससका कार्यकारी व्यवस्थापक शीतल महतो, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह लगायतको सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्षसहितको टोलीलाई रासस भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहले यहाँको बस्तुस्थितिका बारेमा जानकारी गराएउनुभएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ निर्माण भएको चार कोठे कार्यालय भवन बुधबार बिहान उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।(रासस)