भरतपुरको २२ एमभिए ट्रान्सर्फमर जल्यो, तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या देखिने

0
68
light

चितवन, भदौ २८ – भरतपुर र नारायणघाट क्षेत्रमा तीन दिनसम्म विद्युत सेवा प्रवाहमा समस्या देखिने भएको छ । भरतपुरमा रहेको २२ एमभिए ट्रान्सर्फमर जलेपछि शुक्रबारसम्म विद्युत वितरणमा समस्या देखिने भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ ।

भरतपुर सव स्टेशनमा दुई थान २२ एमभिएका ट्रान्सर्फमर मध्ये हिजो एउटा जलेको थियो । ट्रान्सर्फमर जलेपछि नारायणघाट र भरतपुर क्षेत्रमा आलोपालो गरेर  विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । हिजोदेखि भरतपुरका क्षेत्रमा विद्युत आउने जाने भैराखेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।

भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उहाँले बताउनुभयो । ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले मर्मत गर्न तीनदिनसम्म लाग्ने उहाँले कालिका एफ.एमलाई जानकारी दिनुभयो । उहाँले अर्को ट्रान्सर्फमर मर्मत भै संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गर्नुभएको छ ।