रत्ननगर खानेपानीको अध्यक्षमा माधव अर्याल

0
101

रत्ननगर ,भदौ २८– रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद अर्याल चयन भएका छन् ।

आज (सोमबार) संस्थाको १२औं बार्षिक साधारण सभा तथा छैंठौं अधिवेशनले अर्याललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अर्याल नेपाली कांग्रेसका नेता हुन । उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा, सचिवमा एमालेका प्रताप डल्लाकोटी र कोषाध्यक्षमा एकीकृत समाजबादीकी सरस्वती लामा निर्विरोध निर्वाचित भएका हुन ।

महिला सदस्यमा एमालेबाट लक्ष्मीदेवी लामिछाने र मीना श्रेष्ठ, माओवादी केन्द्रबाट शशीकला प्रधान तथा खुल्ला सदस्यमा कांग्रेसबाट केशवनारायण श्रेष्ठ र इश्वर प्रसाद खनाल चयन भएका छन् । लेखा समिति संयोजकमा माओवादी केन्द्रका जीवनलाल नगरकोटी र सदस्यहरुमा कांग्रेसबाट कृष्णप्रसाद घिमिरे र समाजबादीबाट पार्वती घिमिरे चयन भएका हुन ।

सहमतिको आधारमा खानेपानीको नेतृत्व चयनका लागि कांग्रेसका नगर सभापति समेत रहेका रत्ननगरका मेयर प्रल्हाद सापकोटा संयोजक रहेको कार्यदल बनाइएको थियो । चार प्रमुख दलका नगर नेतृत्वको कार्यदलले पद बाडफाँड गरी खानेपानीको समिति सर्बसम्मत गरेका हुन ।