हेटौंडा,भदौ २७ – हेटौंडा २ मा रहेको घाँसीकुवा संरक्षण गर्नका लागि सरसफाई तथा बृक्षारोपण गरिएको छ । कुवा वरिपरि रहेको झाडी सरसफाई तथा कुवालाई संरक्षण गर्नका लागि बृक्षारोपण गरिएको हो । घाँसीकुवा संरक्षण समिति हेटौंडा २ को आयोजनामा भएको बृक्षारोपणमा लप्सी, अमला, बेल, निम, फलफुल तथा फुलका बिरुवाहरु रोपणा गरिएको थियो । वन कार्यालय मकवानपुरले बिभिन्न जातको बिरुवाहरु उपलब्ध गराएको थियो ।
पछिल्लो समय पानीको स्रोतहरु मसिदै जाँदा भबिष्यमा पानीको अभाव पर्ने भन्दै सरोकारवालाहरुले पानीको कुवा, इनार तथा पानी आउने स्रोतहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । यहाँका पुराना स्थानीयवासीका अनुसार २०११ सालदेखि पिउनको लागि हेटौंडाको बुद्धचोक सम्मका स्थानीयले यहाँको कुवाको पानी पिउने गरेको भनाई छ । पिउने पानीको धाराको व्यवस्था नहुँदा यहाँकै पानी पिउने तथा लुगाधुने र नुहाउनको लागि प्रयोग गर्ने गरिएको स्थानीयले बताए ।