दुई महिनामा ४४ लाख बढीको अवैध सामान बरामद

0
166

भरतपुर,भदौ २६-  जिल्ला प्रहरी कार्यालय नवलरासी (वर्दघाट सुस्तापश्चिम)ले दुई महिनाको अवधिमा ४४ लाख ३४ हजार ६०० रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । राजस्व छली गरेर ल्याएका उक्त सामान २०७९ साउन १ गतेदेखि २०७९ भदौ २५ गतेसम्ममा ती सामग्री बरामद गरिएको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको उक्त सामग्रीमाथि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

भन्सार छली गरी ल्याएका सामग्रीमध्ये १९ लाख १८ हजार ३०० रूपैयाँ मूल्यबराबरको लत्ताकपडा, १६ लाख ४४ हजार ५६० रूपैयाँ मूल्यबराबरको खाद्यान्न, दुई लाख एक् हजार २०० रूपैयाँ मूल्यबराबरको हार्डवेयरको सामान, एक लाख ६७ हजार २०० रूपैयाँ मूल्यबराबरको इलेक्ट्रोनिक सामान, तीन लाख ४४ हजार रूपैयाँ मूल्यबराबरको कवाडको सामान, ९४ हजार रूपैयाँ मूल्यबराबरको मल, पाँच हजार रूपैयाँ मूल्यबराबरको मदिरा (सोफी), ४९ हजार ८४० रूपैयाँ मूल्यबराबरको मोटर पार्टस्, र दश हजार ७०० रूपैयाँ मूल्यबराबरको कुखुरा बरामद गरिएको उनले बताए ।

यस्तै अवैध सामान ओसारपोसारमा प्रयोग भएका दुई थान मोटरसाइकल, ट्र्याक्टर एक थान र पिकअप भ्यान एक थानसमेत नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

तीन लाख २४ हजार रूपैयाँ जरिवाना

नवलपरासी प्रहरीले गएको दुई महिनामा तीन लाख २४ हजार ११९ रूपैयाँ जरिवाना संकलन गरेको छ । गत साउन १ देखि यही भदौ २५ गतेसम्म जिल्ला अदालतबाट जरिवाना तथा कैद फैसला भए पनि फरार रहेका १५ जना प्रतिवादीमार्फत उक्त जरिवाना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

पक्राउ परेका १५ जनालाई भने जिल्ला अदालत परासी पठाइएको उनले बताए । पक्राउ गरिएका ती व्यक्तिहरूलाई जम्मा एक वर्ष एक महिना ९ दिन कैद तोकिएको थियो ।