भरतपुर,भदौ २६- भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयको शुल्क वृद्धि हुने भएको छ । महानगरका संस्थागत विद्यालयको शुल्क अधिकतम २० प्रतिशतसम्म बढ्ने स्रोतले जनाएको छ ।
भरतपुर महानगरको शुल्क सिफारिस समितिले विद्यालयको भौतिक अवस्थादेखि शैक्षिक गुणस्तरसम्मको स्तर हेरर अधिकतम २० प्रतिशतसम्म शुल्क वृद्धि गर्ने प्रस्ताव नगर शिक्षा समितिमा पेश भएको छ । नगर शिक्षा समितिले शुल्क वृद्धिको प्रस्तावलाई अन्तिम रुप दिन बाँकी रहेको छ ।
स्रोतका अनुसार नर्सरीदेखि कक्षा १० सम्मको हाल कायम भएको शुल्कमा २० प्रतिशतसम्म वृद्धि हुन सक्नेछ । कक्षा ११ र १२ को शुल्क पनि कक्षा १० सम्मको सँगसँगै बढ्ने तयारी गरिएको छ ।
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार शुल्क वृद्धिको प्रस्तावलाई अन्तिम रुप दिनमात्र बाँकी भएको बताए । उनले भने, ‘नगर शिक्षा समितिले जनप्रतिनिधिसँग बसेर छलफल गरी शुल्क वृद्धिको प्रस्तावलाई कार्यान्वयनमा छिटै लैजान्छ । कक्षा १२ सम्मको शुल्क वृद्धिको तयारी भइरहेकै छ, अब यसलाई निर्णायार्थ प्रस्तुत गर्न बाँकी छ ।’
प्याव्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले शुल्क वृद्धिको विषयमा कुनै आधिकारिक निर्णय नआएको बताए । उनले भने, ‘शुल्क सिफारिस समितिले वृद्धि प्रस्ताव गरेको सुनिएको छ, तर आधिकारिक कुनै जानकारी छैन ।’
भरतपुर महानगरपालिकाले शुल्क वृद्धि नगर्दा अन्य पालिकामा पनि शुल्क वृद्धि हुन सकेको छैन । अन्य पालिकाका शिक्षा शाखाहरु भरतपुर महानगरको शुल्कको निर्णय आएपछि सोही निर्णयलाई टेकेर अघि बढ्ने बताएका छन् ।
सिफारिस समितिको शुल्क वृद्धिको प्रस्ताव जनप्रतिनिधिसम्म लगेर अन्तिम रुप दिने तयारी भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख पौडेल बताउँछन् ।
उनका अनुसार एक साताभित्र शुल्क वृद्धिको प्रस्ताव टुङ्गोमा पुग्नेछ ।
यसअघि चितवनका संस्थागत विद्यालयहरुले ४० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव राखेका थिए । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरुको शुल्क वृद्धिको प्रस्तावमाथि पटकपटक छलफल चलाएको थियो । विद्यार्थी संगठनहरुले शुल्क वृद्धि प्रस्तावको विरोध गरिरहेका छन् ।
पछिल्लो तीन वर्षदेखि संस्थागत विद्यालयको शुल्क बढ्न नसकेको प्याव्सन चितवनका अध्यक्ष अर्याल बताउँछन् । उनले शुल्क वृद्धि नगरेसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब बढाउन नसकिने बताए ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको संस्था इस्टु चितवनले संस्थागत विद्यालयका शिक्षकहरुले पनि सरकारी शिक्षकसरह सेवासुविधा पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।
चितवनमा हाल संस्थागत विद्यालयमा विद्यालयको श्रेणीअनुसार शुल्क कायम भएको छ । साबिक जिल्ला शिक्षा कार्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका तयार गरेको थियो । सोही शुल्क निर्धारण मापदण्ड निर्देशिकाअनुसार शुल्क कायम भएको हो ।
निर्देशिकाअनुसार हाल ‘ग’ श्रेणीका विद्यालयहरुले नर्सरीको एक हजार ४२५ र कक्षा १० को दुई हजार ६४० रूपैयाँ मासिक शुल्क लिएका छन् । ‘ख’ श्रेणीका विद्यालयहरुले यही शुल्कमा २५ प्रतिशत बढाएका छन् । ‘ख’ श्रेणीका विद्यालयहरुले लिएको शुल्कमा ‘क’ वर्गका विद्यालयहरुले अझ २५ प्रतिशत बढाएर शुल्क लिन पाउँछन्, तर चितवनमा ‘क’ वर्गको विद्यालय छैनन् । वार्षिक शुल्क पनि मासिक शुल्कको डबलभन्दा बढी लिन नपाउने व्यवस्था छ ।
प्रकाशित मिति: