चितवन सहित धादिङ र मकवानपुरका चेपाङहरुले भरतपुरमा जम्मा भै मनाए न्वाङगी पर्व

0
183

भरतपुर ,भदौ २२- चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफुलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ ।

नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्देबाट आर्शिवाद लिने र नयाँ अन्न तथा फलफुलहरु चढाएर रमाइलो गरिने बताए। घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सि, निमुवा, वामरी लगायतका अन्न तथा फलफुलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पुजा गर्ने गर्छन् । पूर्णिमा तिथिलाई आधार मान्दा पर्व मनाउदा एकरुपता नहुने भएरै नेपाल चेपाङ संघले भदौ २२ मै न्वाङगी पर्व मनाउने निर्णय ७ वर्ष पहिले गरेको थियो ।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले बागमती प्रदेश सरकारले न्वाङगी पर्वमा सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गरे।

कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले दाजुभाई, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रुपमै पर्व मनाउने प्रचलन रहेको बताए । ८ वर्ष देखि पुरोहितको काम गर्दै आउनुभएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफुलहरु नचढाई खान नहुने मान्यता रहेको बताए ।

राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरु समेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताए । बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज चितवन, मकवानपुर र धादिङमा सार्वजनिक विदा दिएको थियो ।