भरतपुर महानगरका महिला स्वास्थ्य स्वयमसेविकालाई विदाई

0
50

भरतपुर, असार ३२- भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई विदाई गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाको सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेर अवकास पाएका महिला स्वयमसेविकालाई विदाई गरिएको हो ।

भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयमसेविकाहरुलाई विदाई गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयमसेविका कार्यको सम्मान गर्दै विदाई गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।

त्यस्तै प्रदेश सरकारले पनि विदाई गर्दा रु २० हजार दिने गरेको छ । विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयमसेविकाले गरेको कामको प्रशंसा गरिन् ।

स्वास्थ्य स्वयमसेविकाले जनचेतना जगाउने कार्य गर्दा धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो ।
स्वयमसेवीकाले गरेको सेवाको उच्च कदर गरेर उक्त रकम दिइएको उनले बताइन् ।

महानगरपालिकाले स्वयमसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातयात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिइन् । अवकास पाएका स्वास्थ्य स्वयमसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।