तमू ह्युल छोंज धीं भरतपुरको अध्यक्षमा देव गुरूङ

0
47

भरतपुर, असार ३२ – तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् भरतपुर नगरसमितिको अध्यक्षमा देव गुरूङ चयन भएका छन् । समितिको शनिबार भरतपुरमा सम्पन्न छैठौँ अधिवेशनले गुरूङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा देवी गुरूङ, सचिवमा डोलबहादुर गुरूङ, कोषाध्यक्षमा ज्ञानु गुरूङलगायत सदस्यहरु चयन भएका छन् ।

समितिका अध्यक्ष गोविन्दबहादुर गुरूङको सभापतित्व एवं तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिव सन्तलाल गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरूङले समुदायको उत्थान र अधिकार प्राप्तिका लागि सम्पूर्ण गुरूङ समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भारतको सिक्किममा आगामी असोज २५ र २६ गते दोस्रो अन्तर्राष्ट्रिय तमू सम्मेलन हुन लागिरहेको जानकारी दिँदै उक्त सम्मेलनमा विश्वभर छरिएर रहेको गुरूङ समुदायका प्रतिनिधिहरु सहभागी हुने बताए ।

समितिका प्रचारप्रसार सचिव वीरबहादुर गुरूङले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई चन्द्रमान गुरूङ, बेलबहादुर गुरूङ, देवेन्द्र गुरूङ, विमला गुरूङ, शारदा गुरूङ, मीना गुरूङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।