‘प्रकाशले सबै नेपाली युवाको कथा बोल्छ’ : अभिनेता प्रदीप खड्का

0
74

चितवन, असार ३१– अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ नेपाली माटोको कथा बोलेको कमर्सियल फिल्म भएको दाबी गरिएको छ । आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र लेखक बिकास सुवेदी र अभिनेता खड्काले ‘प्रकाश’ कमर्सियल फिल्म भएको दाबी गरेका हुन् । उनले जुम्ला जस्तो बिकट ठाउँको कथा उठाएकको भन्दैमा फिल्मलाई ‘नन कमर्सियल’ भन्न नमिल्ने बताए । लेखक सुवेदीले ‘प्रकाश’ सबै नेपालीको साझा कथा भएको बताए ।

फिल्ममा जुम्लाका एक विपन्न युवाले सरकारी शिक्षकको जागिर खान गर्नुपरेको संघर्षलाई देखाईए पनि यो कथा सबै नेपाली युवाहरुको जीवनसँग मेल खाने उनले दाबी गरे । ‘प्रकाश सबै नेपालीको साझा कथा हो । नेपालमा बसेर केही गर्छु, सरकारी जागिर खान्छु भन्ने युवाहरुको कथा हो’, उनले भने । जुम्ला जस्तो नेपालको पिछडिएको क्षेत्रको युवाले सरकारी जागिर खाने सपना देख्दा कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भने कथा फिल्ममा उठाईएको उनको भनाइ छ ।

उनले नेपाली माटोको कथा रुचाउनेले फिल्मलाई पनि रुचाउने विश्वास व्यक्त गरे । अभिनेता प्रदीपले पनि फिल्ममा आफ्नो कम्फर्ट जोन भन्दा बाहिर निस्किएर फरक भूमिका निर्वाह गरेको बताए । उनले ‘प्रकाश’ बाट आफुले कलाकार बन्ने प्रयास गरेको बताए । यस अघिका फिल्ममा हिरोको रुपमा अभिनय गरेको भन्दै उनले ‘प्रकाश’ मा कलाकार बन्ने प्रयास गरेको बताए । फिल्मको वान लाइन सुनेर नै आफु काम गर्न तयार भएको बताए । ‘फिल्मको कथा के हो ? पात्र के हो ? केही थाहा थिएन । एउटा विद्रोह भयो, द्धन्द भयो ।

त्यसले एउटा व्यवस्था लिएर आयो । त्यसमा यस्ता कमि कमजोरी छन् जसले अर्को विद्रोह निम्त्याउन सक्छ भन्ने लाइनले म काम गर्न तयार भए । मैले गरेको कामले भविष्यमा निम्तिन सक्ने समस्या देखाउन सक्छ भने यो जस्तो गतिलो चिज केही दिन सक्छु जस्तो लागेन । त्यसैले मैले गरे । त्यो समस्या के हो फिल्म हेरेपछि थाहा पाईन्छ’, प्रदीपले भने । उनले ‘प्रकाश’ आफ्नो लागि निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरको रुपमा लिएर राम्रो काम गर्ने प्रयास गरेको बताए ।

फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडालगायतको पनि अभिनय छ । फिल्ममा दुई करोड भन्दा बढी लगानी गरिएको निर्माण पक्षको दाबी छ । जुम्लामा खिचिएको फिल्मको टिजर र दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसले दर्शकबाट राम्रो प्रतिकृया पाइरहेको छ ।