कोरोना सङ्क्रमण बढ्दै, विद्यालयमा स्वास्थ्य मापदण्ड पालना हुन छाड्यो

0
45

सुसिला श्रेष्ठ

काठमाडौँ, असार ३० – दैनिक झण्डै २ सयको हाराहारीमा कोरोना सङ्क्रमण पुष्टि हँुदा समेत स्वास्थ्य मापदण्ड पालना भएको छैन । कोरोनाको चौथो लहर आइहाले बालबालिका थप जोखिममा पर्ने देखिए पनि विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर रहेका ३५ हजारभन्दा बढी विद्यालयमा उच्च माध्यमिक तहसम्म ८४ लाखको हाराहारीमा विद्यार्थी रहेका छन् । ति मध्ये पाँचदेखि १८ वर्षसम्मका झण्डै ८३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

झापाको बुद्ध आदर्श माध्यामिक विद्यालयमा १८ सय विद्यार्थी पढिरहेकामा १४ सयले कोरोनाविरुद्धको खोप लगाईसकेकाले स्वास्थ्य मापदण्ड खासै पालना नगरिएको प्रधानाध्यापक कृष्ण भण्डारीले बताउनुभयो ।

कोरोना विरुद्धको खोप लगाएको भए पनि सङ्क्रमणको जाखिम उत्ति नै रहने डाक्टरहरू बताउँछन् । कोरोनाको उत्परिवर्तित स्वरुपहरू आईरहने भएकाले मापदण्ड अपनाउनु नै सङ्क्रमणबाट जोगिनु मुख्य उपाय रहेको विज्ञको भनाई छ ।

सबै बालबालिका खोपको पहुँचमा नपुगेकाले पनि विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालनामा कडाई गरिनुपर्ने जनस्वास्थ्य विज्ञ सुर्य पराजुलीले बताउनुभयो । नेपालमा हालसम्म १८ वर्ष मुनिका झण्डै ३० हजार बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टी भईसकेको छ ।