ताप्लेजुङमा उर्वर जमिन बाँझिदै

0
34
फुङ्लिङ,  असार ३० – खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ ।

मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन । भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरु त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन् । विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताए ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन् ।

युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताए । धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन् ।

खेताला पाउन मुस्किल

विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो । एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो । तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका–४ का अनिता लिम्बूले बताए । उनले भने “खेताला पाउनै छोडेको छ ।” खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ । एक खेतालाको रु ५०० ज्याला दिनु पर्दछ । एक हल गोरुको रु एक हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका–१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताए । ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

कृषि पेसा अपहेलित

गाउँ घरमा भन्ने गरिन्छ, “अहिले राम्ररी पढ । नत्र पछि हलो जोत्दै बस्नु पर्ला ।” समाजमा पढे लेखेकाले जागिर खाने र नपढेकाले कृषि कर्म गर्नु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ । कृषि प्रविधिक प्रत्येक वर्ष सयौँको सङ्ख्यामा उत्पादन हुन्छन् । कृषि पेसा गर्ने सोच भने हुँदैन ।

कृषि व्यवसाय सीमितले मात्र अङ्गाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ । कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन् । गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका–४ का विक्रम माबोहाङले बताए ।

धान रोपाइँ क्रमिक रुपमा घट्दै

यसवर्ष ताप्लेजुङको नौ स्थानीय तहमा धानखेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताए । गत वर्ष आठ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

विसं २०७५ मा ताप्लेजुङमा आठ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो । सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७६ मा आठ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७७ मा आठ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।रासस