भरतपुर महानगरपालिकाद्धारा सार्वजनिक घुम्ती शौचालय सञ्चालन

0
40

चितवन, असार २८- भरतपुर महानगरपालिकाले पहिलोपटक सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। चितवनको मुख्य बजार क्षेत्रलाई लक्षित गरि भरतपुर महानगरपालिकाले पहिलोपटक नारायणगढको लायन्सचोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।

महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि सर्वसाधारणलाई सहज भएको छ। उक्त शौचालयमा वासवेसन, ऐना, साबुनलगायतको सुविधा राखिएको छ।

चितवनको सदरमुकाम भरतपुरको व्यस्त बजार क्षेत्र लायन्सचोकमा राखेपछि सर्वसाधारणले राहतको महसुस गरेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिए। उनले सेवा दिने उद्देश्यले सार्वजनिक शौचालय सञ्चालन गरिएको स्पष्ट पारिन्।

त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेकाले घुम्ती शौचालय राखिएपछि यत्रतत्र आउने जाने सर्वसाधारणलाई सहज भएको भरतपुरको वातावरण शाखाले जनाएको छ ।

घुम्ती सेवा भएकाले आवश्यकतानुरूप आवश्यक स्थानमा लैजान सकिनेछ। विशेषगरी नारायणगढ बजार क्षेत्रलाई प्राथमिकता दिएर घुम्ती शौचालयको अवधारणा ल्याइएको नगरपालिका कार्यालयले जनाएको छ।

बजार क्षेत्रमा जथाभावी हुने फोहोरमैलालाई व्यवस्थित गरी वातावरण स्वच्छ राख्नका लागि महानगरपालिका कार्यालयले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्पष्ट पारे ।