आइसीसी विश्वकप क्रिकेट लिग २: नामिबियाद्धारा नेपालसामु २२१ रनको लक्ष्य पेश

0
65

काठमाडौँ, असार २७ – आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत स्कटल्याण्डमा जारी खेलमा नामिबियाले नेपालसामु २२१ रनको विजयी लक्ष्य पेश गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा २२० रन बनाउँदै अलआउट भयो ।

नामिबियाका लागि जन निकोल लोफ्टी–इटनले सर्वाधिक ६० रन बनाए । उनी सोमपाल कामीबाट आउट भए । दिवान ला ककले ४१ रनको पारी खेले । उनी कप्तान सन्दीप लामिछानेबाट एलबीडब्लुको धरापमा परे ।

नामिबियालाई मध्यमस्कोरमा रोक्न कप्तानी सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । उनले दिवान ला कक, जेन ग्रीन, जेजे स्मित र रुबेन ट्रम्पलम्यानलाई आउट गरे ।

यस्तै सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चिदै महत्वपूर्ण २ विकेट लिए । उनले सर्वाधिक ६० रन बनाएका जन निकोल लोफ्टी–इटनलाई क्याचआउट गरे भने दक्षिण अफ्रिकाका पूर्व खेलाडी डेभिड विसेलाई बोल्ड आउट गरे ।

करन केसीले ५ ओभरमा २५ रन खर्चिदै एक विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४१ रन खर्चिदै एक विकेट लिए । आजको खेलबाट एकदिवसीयमा डेब्यु गरेका बासिर अहमदले नेपालका लागि अन्तिम विकेट लिए । उनले ७.३ ओभरमा मात्रै १८ रन खर्चिए ।