भरतपुरमा सिंचाई नभएर जग्गा बाँझो राख्नु पर्दैन : मेयर दाहाल

0
57

चितवन,असार १५ – भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिंचाई नभएर जग्गा बाँझो राख्न नपर्ने बताउनु भएको छ । १९ औ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिप बोरिङ र भरतपुर १५ मा ३० वटा स्यालो टुबवेलको उद्घाटन गर्दै दाहालले सो कुरा वताउनुभएको हो ।

उहाँले भरतपुरमा सिंचाईका काम धमाधम भइरहेकाले सबै जस्तो ठाँउमा सिंचाईको पहुँच पुग्ने उल्लेख गर्नुभयो । ‘डिप बोरिङहरु कृषकहरुलाई वितरण गरेका छौ । उहाँले भन्नुभयो,‘स्यालो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिंचाईको कुनै चिन्ता छैन ।’

मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिंचाईको व्यवस्था नहुँदा खेतहरु त्यसै बाँझो रहने गरेको बताउनुभयो । यो समस्याको अन्त्य हुँदैछ । महानगरले कृषिलाई प्रथामिकतामा राखेर कृषिमा व्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरु गर्दै आईरहेको पनि जानकारी दिनुभयो ।

कृषिलाई प्रथामिकता दिएकै कारण संघिय सरकार, प्रदेश सरकार र नेपालको ७५३ स्थानीय तहमा नभएको दूधमा ३ रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उहाँको भनाई थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले यो आर्थिक वर्षमा मात्रै स्थायी संरचनासहित डिप बोरिङ ३० वटा रस्यालो टुबवेल १८५ वटा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये भरतपुरमा मात्रै २० वटा डिप बोरिङ र १ सय ४० स्यालो टुबवेल जडान गरिएको छ ।

आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० विघा जग्गालाई सिंचाई गर्न सक्छ भने स्यालो टुबवेलले ४ विघा सिंचाई गर्दछ । यो आयोजना अन्तर्गत किसानले ३ देखि ८ प्रतिशत जनसहभागितामा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । डिप बोरिङ र स्यालो टुबवेल जडान भएपछि किसानले १२ महिना सिंचाईका लागि पानीको सुविधा प्राप्त गर्नेछन् । यो आयोजना मार्फत आफ्नो खेतबारीमा बाह्रै महिना सिंचाईको सुविधा पाएपछि किसानहरु खुसी छन् । कार्यक्रम लागू भएपछि चितवनमा मात्रै १३ सय ६५ हेक्टरमा सिंचाई विस्तार भएको छ ।