किसानकाे हितमा काम गर्न राप्रपाद्वारा सरकारकाे ध्यानाकर्षण

0
34

चितवन, असार १३- राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति चितवनले किसानकाे हितमा काम गर्न माग गरेकाे छ ।
आज १३ वटा बुंदागत माग राखेर तत्काल किसानमैत्री नीति,कार्यक्रम बनाउन माग गरेकाे हाे ।

आम नेपाली जनताले सोचेजस्तो सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएकाे भन्दै ८५ प्रतिशतभन्दा बढी नेपालीको मुख्य पेसा भनेकै कृषि भएपनि सदैव समस्याग्रस्त अवस्थामा कृषकहरु रहेकाे भन्दै कृषिलाई सम्मानित पेसा बनाउँदै कुल गार्हस्थ उत्पादनमा वृद्धि गराउनका लागि मागहरु पूरा गर्न आग्रह गरिएको छ ।

मागहरुमा प्राङ्गारिक कृषिमा जोड दिने,भूमिगत सिञ्चाइमा शतप्रतिशत अनुदानको व्यवस्था मिलाउने,रासायनिक मल (युरिया डिएपी पोटास ) तुरुन्त उपलब्ध गराउने, बिउ बिजनमा ५० प्रतिशत अनुदान प्रदान गर्ने,कृषि उपज (कृषकबाट उत्पादित वस्तु) को उचित मूल्य निर्धारण गर्ने,कृषक पेन्सनको कार्यान्वयन गर्ने, कृषक परिचय-पत्र लागू गर्ने, कृषिमा प्रयोग हुने विद्युत महशुलमा शतप्रतिशत छूटको व्यवस्था मिलाउने, कृषि उपज भण्डारणको व्यवस्था गर्ने,कृषि प्रयोजनको लागि सस्तो ब्याजदरमा सर्वसुलभ बैंकिङ व्यवस्था मिलाउने,कृषिमा आधुनिकीकरण एवं औद्योगिकरणको व्यवस्था गर्ने,कृषि उपज बिक्री वितरणमा बिचौलियको अन्त्य गरी कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाउने,किटनाशक औषधिहरुमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्न जाेडदार माग गरिएको छ ।

२०४६ सालको परिवर्तन, त्यसपछिको दशवर्षे द्वन्द्व र त्यसको पनि अर्को डेढ दशक बितिसक्दासमेत नेपाली जनताले ठूलो जनधनको क्षति व्यहोर्नु परेकाे भन्दै किसानका समस्या समाधानमा गम्भीर बनेर माथिका माग पूरा गर्न भनिएकाे छ।

परिवर्तनपश्चात नेपाली जनताहरु न सुखी र शान्ति बन्न सकेकाे, न त सम्वृद्धि नै प्राप्त भएकाे भन्दै अहिले पनि आम नेपाली जनता भोक, रोग, अशिक्षा तथा बेरोजगारीको समस्याबाट भौतारिराख्दा सरकार गैरजिम्मेवार बनेकाे बताईएकाे छ।

नेपाल कृषि प्रधान देश भएपनि अहिले पनि कुल गाहस्थ उत्पादनमा मुख्य भूमिका खेल्ने कृषि क्षेत्र र कृषकहरु राज्यबाट उपेक्षित बन्न पुगेकाे भन्दै राजनीतिलाइ कमाइ खाने बाटाे नभइ जनहितका कार्यमा समर्पित गर्न समेत साे पार्टीले आह्वान गरेकाे छ ।