काभ्रेका सुर्य श्रेष्ठविरुद्ध गायिका दिलमायाका बुवाले दिए जाहेरी

0
45

काठमाडौं, असार १३- लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु घटनामा पक्राउ परेका सुर्य श्रेष्ठविरुद्ध उनका परिवारले जाहेरी दिएका छन् ।

सुर्खेतबाट आएका दिलमायाका बुवा केशर विकले प्रहरी वृत्त बालाजु पुगेर श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धि कुसुरमा जाहेरी दर्ता गराएका हुन् ।

सुनार काठमााडौंस्थित नेपालटारको आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा उनको मोवाइल फोन पनि नभेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठले काठमाडौंमा सुन पसल चलाउँदै आएका थिए । सुनारको मृत्यु, हत्या वा आत्महत्या के बाट भएको हो भन्ने प्रहरीले अझै टुंगो लगाउन सकेको छैन् ।

यद्यपी सुनारको घाँटीमा निलोडाम देखिएको प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा पक्राउ परेका श्रेष्ठले शुक्रबार राति दिलमायासँगै सुतेको स्वीकारेका छन् । उनले साझसँगै सुतेको र ब्युँझदा दिलमाया झुण्डिएको अवस्थामा देखेको र आफुले उनलाई तल झारेको समेत प्रहरीसमक्ष बयान दिएका छन् ।

ढोका खुल्ला भएको अवस्थामा दिलमाया शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । मृत्यु हुनुअघि दिलमायाले फेसबुकमा आफु मर्न लागेको र त्यसको दोष कसैलाई पनि नदिन भन्दै स्टाटस लेखेकी थिइन् ।