उपत्यकामा हैजाको प्रकोप बढ्दो,१२ जनामा संक्रमण पुष्टि

0
35

काठमाडौँ, असार १३- काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिने क्रम बढेको छ । उपत्यकामा हालसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।